काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपा ‘हिमालपारिको संकेतबाट जुट्ने वा मैदानपारिको सक्रियताबाट फुट्ने’ पार्टी नभएको बताएका छन्।
‘घरेलु (नेपाली )बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा। यसको विकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रविधिको प्रयोग गरिएको छैन। नेकपा जैविक र नेपाली विशेषताको मौलिक पार्टी हो’, फेसबुकमा स्टाटस लेख्दै भट्टराईले भनेका छन्, ‘यसको विकास वा विनाश यसैभित्र अन्तरनिहित छ। ‘हिमालपारिको संकेतबाट जुट्ने वा मैदानपारिको सक्रियताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फिट नहुने सोच वा औषधि हो।‘
उनले त्यस्तो सोच र औषधिको उक्ति अरु कसैमा लागू हुनसक्ने र त्यो उनीहरुले नै जान्ने कुरा भएको बताएका छन्।
एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा विभाजनको इतिहासलाई क्रमभंग गरी एकताको इतिहास निर्माणको परिणाम भएको उनले प्रष्ट पारेका छन्।
नेकपाले कठिन क्षण भोगिरहेको पनि उनले बताएका छन्। ‘यो सत्य हो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन्’, उनले लेखेका छन्।
उनले नेकपाका सदस्यहरुलाई प्रश्न गरेका छन्- दुई हातमा पानी कि पेट्रोल?
उनले पेट्रोलले उर्जा तथा पानीले उर्जा र जीवन भन्दै लेखेका छन्- नेपालमा पानीका मुहान सुकेका छैनन्!
नेकपाभित्रको विवाद बढ्दै जाँदा मंगलबार साँझ चिनियाँ राजदूतले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीलाई भेटेकी थिइन्। सो भेटलाई नेकपाको विवाद मिलाउन चिनियाँ सक्रियताको रुपमा आलोचना भइरहेको छ। साथै, नेकपा विभाजनलाई भारतीयहरुले सहयोग पुर्याइरहेको भन्दै एक पक्षले आरोप पनि लगाउने गरेका छन्।
घरेलु (नेपाली )बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टीहो नेकपा । यसको बिकास र बिस्तारमा कुनै...
Posted by Yogesh Bhattarai on Wednesday, November 18, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।