काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर ‘रअ’ का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री केपी ओलीले भेट्नु राष्ट्रिय सार्वभोमिकता र हितलाई कमजोर पार्ने काम भएको बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था प्रमुखबीच भएकाे भेटकाे आलोचना गरेका हुन्।
उनले प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिविना गोयललाई भेटेको उल्लेख गर्दै पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी नभएको र पछि पनि पार्टीमा यसबारे कुनै संस्थागत र औपचारिक छलफल नभएको जनाएका छन्।
‘मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको’ उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणका लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्थ्यो, त्यो होइन भन्ने स्पष्ट भइसकेको छ।’
विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्ने उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले त्यस्तो पनि भएको नदेखिएकाले यस भेटमा गम्भीर प्रश्न उठ्ने बताएका छन्।
उनले प्रश्न गरेका छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहितविपरीतको यस्तो भेट किन?’
यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन ,अन्ततस् राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।