काठमाडौं- जनता समाजवादी पार्टीले दसैभत्ताको व्यवस्था तत्काल खारेजीको माग गर्ने भएको छ। केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो माग गरेको हो। यद्यपि यसबारे आधिकारिक जानकारी मंगलबार बैठक सकिएपछि आउने बैठकमा सहभागी जसपाका एक नेताले नेपाल लाइभसँग बताए।
दसैँ भत्ता खारेज नगरे आफ्नो पार्टीका सबै सांसदले दसैँभत्ता फिर्ता गर्ने निर्णय गरिएको समेत उनको भनाइ छ। यसका साथै कोभिड-१९ पीडितलाई राहत दिन पनि माग जसपाले माग गरेको छ।
बैठकले पार्टी विधान संशोधनका विषयमा समेत छलफल गरेको छ।
जसपाको यो दोस्रो केन्द्रीय कार्यकारिणी समितिकाे बैठक हो। यसअघि गत साउन २१ देखि २४ गतेसम्म पहिलो बैठक बसेको थियो। त्यतिबेला बैठक बसेको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानमै यो बैठक पनि बसेको हो।
गत बैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी गठन भएको थियो। एकता भए पनि समायोजजन र कार्यविभाजन लगायतका काम सकिएको छैन।
सोमबारदेखि सुरु भएको बैठक मंगलबार पनि चल्नेछ। जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।