काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै छलफल गरेका कर्णालीका मुख्यमन्त्रीसहितका नेताहरूले अध्यक्षद्वयसँग आइतबार एकसाथ छलफल गर्ने भएका छन्। आइबार ओली-प्रचण्डसँग छलफल गर्न लागिएको र आइतबार विवाद एउटा निष्कर्षमा पुग्ने कर्णाली प्रदेश नेकपा सचिव मायाप्रसाद शर्माले नेपाल लाइभसँग बताए।
बिहीबार र शुक्रबार अध्यक्ष प्रचण्डले विभिन्न पक्षका नेताहरूसँग छलफल गरेका थिए। शनिबार प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीसहितका नेताहरूलाई पत्र काटेर बोलाएर अध्यक्षद्वयले दिने सुझावलाई आत्मसात गरी अघि बढ्न सुझाव दिएका थिए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली पक्षका नेताहरूले प्रदेशसभामा आइतबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए। यसपछि कर्णाली प्रदेशको सरकार धरापमा परेको थियो। तर माधव कुमार नेपाल पक्षका नेताहरूले मुख्यमन्त्री शाहीलाई नै सहयोग गरेपछि मुख्यमन्त्री शाहीको पद तत्कालका लागि जोगिएको थियो।
यसैबीचमा नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाएका थिए। सोही अनुसार, मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएका हुन्।
आइतबार अध्यक्षद्वय एकसाथसँग छलफल भएपछि विवादका विषयमा एकमत हुन सकिने अवस्था बन्ने कर्णाली सचिव शर्माले बताए। 'आइतबार ओली-प्रचण्डसग छलफल सकिन्छ। आइतबार कति बजे कर्णाली नेताहरूसग फलफल गर्ने समय फिक्स भएको छैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।