काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मन्त्रिमण्डल पुनर्गठन गर्नका लागि भद्र सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवटारमा अध्यक्ष ओली प्रचण्डले दिउसो १ बजेदेखि साढे ३ बजेसम्म गरेको छलफलमा पुनर्गठन गर्ने सहमति भएको अध्यक्ष प्रचण्डनिकट स्रोतले जनाएको हो।
आइतबार बसेको सचिवालय बैठकमा नेताहरुले मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा तीन सुझाव दिएका थिए। जसमा पहिलो मापदण्डमा प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई हटाउने, दोस्रो मापदण्डमा २ वर्ष पुगेका सबै मन्त्रीलाई हटाउने र कार्यक्षमतामा कमजोर देखिएकालाई हटाएर पुनर्गठन गर्ने सुझाव दिएका थिए। त्यहीँ विषयलाई केन्द्रमा राखेर अध्यक्ष ओली प्रचण्डले भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा ठोस सुझाव दिएपछि मात्रै प्रधानमन्त्री अघि बढ्ने भएका छन्।
प्रधानमन्त्री ओलीले दशैंअघि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको एक मन्त्रीले बताए। आइतबारदेखि पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन, बाँकी रहेको पार्टी एकता र संवैधानिक आयोगको नियुक्तिका विषयमा छलफल गर्ने एजेन्डा बनाइएको थियो। मंगलबार बस्ने सचिवालय बैठकले त्यही विषयमै छलफल गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।