काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुनमा महाधिवेशन हुन नसक्ने परिस्थिति आएको बताएका छन्। १४ औं महाधिवेशन फागुनमा हुन नसके त्यसको विकल्पमा नयाँ मिति जेठ वा भदौ हुने उनले बताए।
कोरोना संक्रमणले क्रियाशील सदस्यता वितरण कार्यतालिकाअनुसार नभएको उनले बताए। उनले भने, ‘क्रियाशील सदस्यता सबै ठाउँमा कोरोनाका कारण बाँड्न नसकिएको भन्ने आएको छ। महाधिवेशन सार्नुपर्छ भनिएको छ।’
हिमाली जिल्लामा जाडो महिनामा अधिवेशन गर्न समस्या हुने उनले बताए। जिल्ला अधिवेशनको समय पुसका लागि तोकिएको छ। कांग्रेस कोभिड १९ अनुगमन समितिद्वारा कर्णाली प्रदेशका नेता कार्यकर्तासँग गरेको भिडिओ संवादमा उनले भने, ‘पुसमा हिउँ परेर हिमाली जिल्लामा अधिवेशन गर्न समस्या हुन्छ। आवतजावत हुन नसकेपछि अधिवेशन हुन सक्दैन।’
पार्टीको विधान अनुसार नभए संवैधानिक व्यवस्थाले दिएको समयानुसार भदौभित्रै महाधिवेशन हुनुपर्ने उनले बताए। महाधिवेशनका विषयमा पार्टी कार्यकर्तालाई चिन्ता नलिन आग्रह गर्दै देउवाले भदौसम्म हुने अवगत गराए। उनले भने, ‘भदौंभन्दा पर लानै सकिन्न। पहिले पनि सरेर असोज पहिलो साता भएकै हो। पहिले हुने अहिले हुन नसक्ने भन्ने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।