काठमाडौं- बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेश सांसदहरुले खेद व्यक्त गर्नुका साथै आपत्तिसमेत जनाएका छन्। गत आइतबार मुख्यमन्त्री पौडेलले मकवानपुर जिल्ला समन्वय समितिको पाँचौँ जिल्ला सभामा ‘आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान’ चलाएको अभिव्यक्ति दिएपछि सांसदहरूले आपत्ति जनाएका हुन्।
पौडेलले दिएको अभिव्यक्तिले नेता कार्यकर्ता र आम जनतामा भ्रम सिर्जना भएको भन्दै मकवानपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदले हस्ताक्षर गरी सोमबार एक विज्ञिप्त जारी गरेका हुन्। पार्टी स्थायी कमिटीमा विवाद हुँदाहुँदै मुख्यमन्त्री पौडेलले बिना आधार यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएका छन्।
मुख्यमन्त्री पौडेलले दिएको अभिव्यक्ति आपित्तजनक भएको भन्दै प्रदेश सांसदहरुले पुष्टि गर्ने अधिकार समेत उनकै भएको बताएका छन्। प्रदेश राजधानी बनाउने सवालमा र बजेटका विषयमा समेत नेकपाकै धेरै सांसदहरुले आसन्तुष्टि जनाएका थिए।
पार्टी र प्रदेश सरकारमा समेत मुख्यमन्त्री पौडेल अल्पमतमा भएकाले आफै तत्रसित भएको हुन सक्ने एक सांसदले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।