काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतम बुद्धलाई भारतीय विदेशमन्त्री एस. जयशंकरले महान् भारतीय भनी विवादास्पद अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।
आइतबार फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई 'महान् भारतीय' भन्दै भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक भएको लेखेका छन्।
'ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा-नरहँदै बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु,' नेता नेपालले स्टाटसमा लेखेका छन्।
नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मा 'बुद्ध नेपालमा जन्मिएका हुन्' भनेर स्पष्ट रूपमा उल्लेख गरेको समेत स्मरण गराएका छन्।
भारतीय जिम्मेवार अधिकारीबाट विवाद बढाउने अभिव्यक्ति आउनु दुखद् भएको उनको भनाइ छ। यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्नसमेत उनले अनुरोध गरेका छन्।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध पनि एक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।