काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम सुरु गर्न गरेकाे आग्रहप्रति टिप्पणी गरेका छन्। शर्माले ट्विटरमा भनेका छन्, 'भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार?'
उनले यस्ताे कर्मले भगवान राम प्रशन्न हाेलान् कि घर जलेका भक्तले क्षमा देलान् भनि प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान्? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला @PM_Nepal?'
बुधबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम सुरु गरिहाल्न आग्रह गरेका थिए। प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।