काठमाडौं- सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल खुमलटार पुगेका छन्। पार्टीभित्रको विवाद साम्य गर्न पार्टी दुई अध्यक्ष मिलेर सहमति खोज्नु पर्ने भन्दै पौडेल र पोखरेल बिहान खुमलटार पुगेका थिए।
पार्टी एकता दुई अध्यक्षले गरेको र अहिलेको विवाद पनि दुई अध्यक्षले मिलाउनु पर्ने उनीहरुको आशय थियो। अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद समाधान प्रधानमन्त्रीले नै खोज्नु पर्ने बताएका थिए।
पौडेल र पोखरेलसँगको भेटमा प्रचण्डले आफू पार्टी एकताको पक्षमा भएको बताउँदै सहमतिको ढोका प्रधानमन्त्रीले खोल्नुपर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टीमा विवाद समाधान हुने गरी प्रधानमन्त्रीले प्रस्ताव ल्याए संवाद गरेर निकास निकाल्न सकिने प्रचण्डको भनाइ थियो।
‘पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी ओली इतर समूहको बहुमत छ,’ भेटका विषयमा जिज्ञासा राख्दा प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टी एकतालाई कायम राख्न प्रचण्ड कमरेड यति धेरै समय पर्खेर बस्नु भएको हो। अब अघि बढ्नुहुन्छ।’
दुई अध्यक्षको संवाद नै हुन छोडेपछि यसअघि ओलीले आफू निकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई अध्यक्ष प्रचण्डसँग भेट्न खुमलटार पठाएका थिए।
गत साउन १३ गतेको स्थायी कमिटी बैठकपछि अध्यक्ष ओली प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित लगातार तीन दिनसम्म दैनिकजसो संवाद गरेका थिए। दुई अध्यक्ष आ–आफ्नो अडानमा कायमै रहेपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जान छोडेका थिए।
गत बुधबार अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठले भेला गरी पार्टी विधि पद्धतिमा नचलेको भन्दै प्रधानमन्त्रीको विकल्प खोज्नु पर्ने मत राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।