काठमाडौं- नेकपा उपाध्यक्ष वामदेव गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको भनेर कपोलकल्पित र भ्रामक प्रचार गरिएको बताएका छन्। आफ्नो जोडबलमा भट्टको नियुक्त भएको भन्ने विषयमा गौतमले आफ्नो सचिवालयमार्फत खण्डन गरेका हुन्।
‘सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन,’ गौतमले भनेका छन, ‘यो मेरो सरोकारभन्दा बाहिरको विषय हो।’
यस्तो छ गौतमको खण्डन
१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ। तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन। यो मेरो सरोकार भन्दा बाहिरको विषय हो।
२. अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हलहुन नसग्दा तीन वटा विचार समूह बनेका छन्। यी समूहसँग क. केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ। म समूहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न बाेलाउँदा म जाने गरेको छु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु। पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।
३. ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो। त्यसै कारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै उहाँहरुले बाेलाउँदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको बेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु। क . प्रचन्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु।
पार्टी अध्यक्ष दुवै वा एक्लै बाेलाएको बैठक वा भेलालाई मैले गुट मान्दैन। त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।
वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।