काठमाडौं- राष्ट्रियसभाका चार वटा समिति सभापतिमा पुरानै अनुहार दोहोरिने भएका छन्। राष्ट्रियसभा नियमावली अनुसार दुई वर्षे कार्य अवधि गत साता पूरा भएपछि पुनर्गठन भएका समितिमा पुरानै अनुहार दोहोरिने निश्चित भएको हो।
सदस्यहरुको मनोनयनपछि सभापति चयनका लागि प्रारम्भ भएको चुनावी प्रक्रियामा पुरानै व्यक्तिहरु विरुद्ध कसैको पनि उम्मेदवारी परेको छैन। तर उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा भने हुन बाँकी छ। समिति सभापतिका लागि उम्मेदवारी दर्ताका लागि बिहीबार तोकिएको समयभित्र यसअघि सभापतिको जिम्मेवारीमा रहेका व्यक्तिहरुकै एक/एक जनाको नामको प्रस्ताव मात्रै दर्ता भएपछि उनीहरुमात्र निर्विरोध निर्वाचित हुने भएका हुन्।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार समिति सभापतिको निर्वाचनका लागि नाम प्रस्ताव गर्न तोकिएको समयभित्र साविककै सभापतिहरुको नामको प्रस्ताव आएको थियो।
‘१-१ जनाको नाम मात्रै आएपछि उहाँहरु स्वतः सभापति हुने निश्चित जस्तै भयो,’ उनले भने ‘तर, त्यसको औपचारिक घोषणा समिति बैठकबाटै हुनेछ।’
चार समितिमध्ये पहिले गरिएकै भागबन्डाअनुसार प्रतिपक्षी कांग्रेसले एउटा समितिको र बाँकी तीन समितिमा नेकपाले नेतृत्व पाउने पक्का भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।