काठमाडौं- नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ। भेटमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
नेकपाको जारी स्थायी कमिटी बैठकमा उत्पन्न विवाद निरुपणका लागि दुई अध्यक्षबीच केही दिनयता भेटवार्ता चलिहरेको छ। गत आइतबार र सोमबार पनि उनीहरु छलफलमा जुटेका थिए। तर निष्कर्ष निस्केको थिएन।
गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग भएपछि बैठक बस्नेभन्दा बढी स्थगित हुने गरेको छ। पछिल्लो पटक गत साउन १३ गते प्रचण्ड र माधव नेपाल निकटका २९ स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्य सहितको बैठक बसेको थियो।
पछिल्लो भेटमा प्रचण्डले कम्तीमा एक पदबाट राजीनामा दिन र स्थायी कमिटीको बैठक बोलाउन भनेको र ओलीले पहिले सचिवालयमा सहमति गरेर मात्रै स्थायी कमिटी बोलाउनुपर्ने बताउने गरेको बताइएको छ।
गत १३ गतेको बैठक प्रधानमन्त्री ओलीले स्थगित गरिदिएका थिए। त्यतिबेला अर्को बैठकको मिति तोकिएको थिएन। साथै बहुमत सदस्यको बैठकले पनि अर्को बैठकको मिति तोकेको थिएन। बरु, ओलीसँग संवाद गर्नको लागि प्रचण्डलाई जिम्मा दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।