काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको भन्दै मान्छे उचाल्ने र भड्काउने गरेको आरोप लगाएका छन्।
बालुवाटारमा आज आयोजित विज्ञसहितको सर्वपक्षीय भेलामा ओली सञ्चारमाध्यमप्रति आक्रोशित भएका हुन्।
उनले भने, ‘देश यस्तो संकटमा भएका बेला क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन भन्ने, लकडाउन गर्यो भने किन गर्यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ।’’
उनले कोरोना संकटका बेला आफ्नै पार्टी पनि गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाए। पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरे।
नेकपाकै नेताहरु मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदासिन हुँदै स्वार्थका पछाडी कुदेको उनको टिप्पणी थियो।
सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि ओलीले त्यसप्रति असन्तुष्टि जनाएका हुन्।
उनले भने, ‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन, मेरै पार्टीमा देखिन्छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भनियो, कहाँ बस्ने हो? के गर्ने हो? त्यस्तो सोच केही पनि छैन। तर बैठकचाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्यो, भरे बस्नुपर्यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्तिहरु निकै व्यापक रुपमा देखिन्छ ।’
प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न पनि आग्रह गरे। कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढीपहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेको उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पु¥याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिड अन्त्य गर्नुपर्ने उनले बताए। उनले खुला सिमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनीसमेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।