काठमाडौं– नेपाली कांग्रेसप्रति आस्था राख्ने ‘युथ कांग्रेस’ले सक्रियता बढाएको छ। पार्टीले सूचिकरण गरेका भ्रातृ तथा शुभेच्छुक संस्थाहरु भन्दा युथ कांग्रेसका गतिविधि प्रभावकारी देखिँदै गएको छ।
तीन वर्षअघि गठन भएको संस्थालाई मूल पार्टीले शुभेच्छुक संस्थाको मान्यता भने दिइसकेको छैन। गत निर्वाचनको समयमा गठन भएको युथ कांग्रेसले सामाजिक अभियानमा सक्रियता देखाएको हाे। लोकतन्त्रमाथि हुने प्रहारका विरुद्ध संगठनले आवाज उठाइरहेको केन्द्रीय संयोजक सचिन तिमिल्सिनाले जानकारी दिए। युवाहरुलाई राजनीतिक सचेतना बढाउने क्रियाकलाप संगठनले गरेको उनले बताए।
माइतीघरलाई निषेधित क्षेत्र घोषणाविरुद्ध युथ कांग्रेसले विरोध गरेको थियो। होली वाइनले चर्चित युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सरकारले सवारी साधन जोर विजोर प्रणाली लागू गर्दा त्यसको विरोध संगठनले गरेको थियो। सरकारी निर्णयलाई अवज्ञा गर्दै सवारी साधन चलाएर युथ कांग्रेसले विरोध गरेको थियो। सामाजिक सञ्जालमा सक्रिय युवाहरुको टोली रहेको संगठनले अनलाइन संवाद पनि गर्दै आएको छ।
पछिल्लो समय ‘इनफ इज इनफ’ अभियानलाई युथ कांग्रेसले पनि साथ दिएको छ। बालुवाटारमा भएकाे विरोध प्रर्दशनमा युथ कांग्रेसका सदस्य पनि सहभागी भएका थिए। अनसनरत ‘ई’को आन्दोलनमा युथ कांग्रेसले एक्यबद्धता जनाएको छ।
कांग्रेसको सिद्धान्त अंगाल्ने युथ कांग्रेसले पार्टीका नेताहरु सुध्रिन आग्रह गर्दै आएको छ। केन्द्रीय संयोजक तिमिल्सिना भन्छन्, ‘कांग्रेसको यहि नेतृत्वले पार्टीलाई अघि लान सक्दैन। कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुन्छ।’
१७ सदस्यीय केन्द्रीय समिति रहेको संगठनको प्रदेश र जिल्ला कार्यसमिति पनि बनिरहेका छन्। बागमती र गण्डकी प्रदेश स्तरीय कार्यसमिति गठन भएको छ। काठमाडौं जिल्ला कार्यसमिति पनि गठन भएको छ। १४ जिल्लामा संगठन बनाउने कार्य अन्तिम चरणमा पुगेको तिमिल्सिनाले जानकारी गराए। तल्लो तहका कार्यसमिति ११ जनाको बनाइएको छ। संगठनमा आवद्ध हुनलाई १८ देखि ४० वर्षभित्रको उमेर समूह मापदण्ड बनाइएको छ। युथ कांग्रेसमा आवद्धहरु पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थामा आवद्ध नहुने बताइएको छ।
युथ कांग्रेसले आस्था राख्ने मूल पार्टीको नेतृत्वलाई सुधार्ने क्रियाकलाप संगठन गर्न नसकेको तिमिल्सिना बताउँछन्। राष्ट्रिय मुद्दाका अन्य घटनाक्रमले गर्दा कांग्रेसको नेतृत्वलाई दबाबका कार्यक्रम ल्याउन नसकिएको उनले बताए। ‘कांग्रेसको आइडोलोजीमा समस्या छैन। कांग्रेसको हार्डवयरमा चाहिं कहिं कहिं समस्या छ,’ तिमिल्सिनाले भने, ‘जुन प्रवृतिले कांग्रेस चलिरहेको छ। त्यो प्रवृति परिवर्तन गर्नैपर्ने छ।’
संगठनले विधानको बारेमा शनिबार छलफल गरेको थियो। साथै, नेपालको इतिहास र संविधानबारे सदस्यहरुलाई प्रशिक्षित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।