काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबारको भेटवार्ता सकारात्मक बनेको छ। बिहान पौने १० बजेदेखि सुरु भएको छलफल झन्डै तीन घण्टा चलेको छ।
अध्यक्षद्वयको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्बाङ पनि सहभागी थिए। 'छलफल निकै सकारात्मक भएको छ। धेरै समयपश्चात दुई अध्यक्षको बीचमा त्यति हार्दिकतापूर्वक छलफल भयो जस्तो मलाई लाग्छ', नेम्वाङले जानकारी दिए। उनका अनुसार, अध्यक्षद्वयबीच भोलि बिहान पुनः भेट्ने कार्यक्रम छ। भेटवार्तामा खनाल र नेम्बाङ पनि सहभागी हुनेछन्।
आजको छलफलमा पार्टीको औपचारिक रुपमा कसरी सुरु गर्ने भन्ने सम्बन्धमा पनि छलफल भएको थियो। 'अहिले देखापरेका समस्यालाई दुई अध्यक्षको बीचमा छलफल गरेर, निरन्तर वार्ता र संवाद गरेर यो समस्यालाई समाधान गर्नुपर्छ भन्ने कुरामा विवाद रहेन,' उनले भने, 'दुई अध्यक्षको बीचमा छलफल गरेरै यो कुराको टुंगो लाग्छ। यो कुरा निर्विवाद रह्यो। यसका लागि यो छलफललाई सकेसम्म आजै टुंगो लगाउने भनिएको थियो। अन्तिममा यो छलफलले निरन्तरता दिने पाएको छ।'
'आजको छलफल ग्रिन टि सहित भएको थियो। भोलिको बैठक जेरी सहित बस्ने भएको छ', बैठक सकारात्मक मोडतिर गएको संकेत गर्दै नेम्वाङले भने।बैठक सकारात्मक भए पनि यसै गर्ने निष्कर्षमा भने नपुगेको नेम्वाङको भनाई छ।
गत साउन १३ गते बोलाइएको बैठक निकै तिक्त बनेको थियो। ओलीले एकलौटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेताहरुको बेग्लै बैठक बसेको थियो। बालुवाटारमै बसेको बैठकमा २९ स्थायी कमिटी सदस्य र दुई आमन्त्रित सदस्य उपस्थित रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।
बहुमत सदस्यको सोही बैठकले ओलीसँग छलफल गरेर छिटो बैठक राख्ने पहलकदमी गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो। 'यस विषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्यो', बैठकपछि प्रवक्ता श्रेष्ठले पत्रकारहरुलाई भनेका थिए।
बहुमत सदस्यको बैठकअघि पनि प्रचण्ड र खनाल ओलीलाई बैठकमा उपस्थितिको लागि अनुरोध गर्न गएका थिए। तर ओलीले अस्वीकार गरेका थिए।
गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।