काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू ललितपुरको झम्सिखेलस्थित अगेनो बेकरीमा भेला भएका छन्।
बुधबार बेलुका उनीहरू बिहीबारको स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा रणनीति तय गर्न भेला भएको नेपाल समूहका एक नेताले नेपाल लाइभलाई बताए। उनका अनुसार बिहीबारकाे बैठकमा कसरी प्रस्तुत हुने भन्ने साझा एजेन्डा तय गर्न उक्त समूहले छुट्टै भेला गरेको हाे। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कामकारबाही ठीक नभएकाे निष्कर्षमा पुगेको उक्त समूहले कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्नेछ।
केही दिनदेखि जारी बैठकमा नेपाल-प्रचण्ड समूहका नेताहरुले ओलीको राजिनामा माग गरेका छन्। स्थायी कमिटीको बैठकबाटै उनलाई राजिनामा दिन लगाउने निर्णय गर्ने वा नगर्ने भन्ने विषयको टुगो आजको भेलाले लगाउनेछ।
भेलामा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा केही मन्त्रीहरू पनि सहभागी भएको बताइएको छ।
भेलामा नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, नेताहरू बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरू सहभागी छन्।
पछिल्लो समय पार्टीभित्र अन्तरविरोध भएपछि दाहाल र ओली समूहले छुट्टाछुट्टै भेला गर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।