काठमाडौं- प्रतिनिधिसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले कोरोना भाइरसको संक्रमणका बारेमा सरकारको तयारी फितलो भएको भन्दै पैलँदो संक्रमण रोक्न सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधिसभाको एक मिनेटमा बोल्ने सांसदहरुले स्थानीय तहमा परिक्षण किटको व्यवस्था गर्दै परिक्षणको दायरा बढाउन माग गरेका हुन्।
भारतबाट आउने नेपालीहरूलाई सुरक्षित रुपमा सम्बन्धित गाउँपालिका पुर्याउन र उनीहरुको कोरोना परीक्षण गर्न सांसद्हरुले माग गरे। सांसदहरुले संविधान संशोधनका विषयलाई छिटै पेश गरेर पारित माग गरेका छन्। त्यस्तै सांसदहरुले बुधबारको बैठकमा पनि रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरे। यो घटना राजनीतिकरण हुनसक्ने भन्दै उनीहरुले यसको अनुसन्धान बिना दबाब गर्न माग गरे।
कसले के भने?
यज्ञराज सुनुवार
वर्षा शुरु हुन लागेको छ। खाद्य सामाग्री सहजता अहिले पनि छैन। वर्षा शुरु भएपछि यो झन् विकराल हुन सक्ने छ। त्यसैले समयमा यसलाई सरकारले सोच्न जरुरी छ।
यशोदा सुवेदी
रुकुम पश्चिम घटनाको राजनीतिकरण नहोस् भन्न चाहन्छु। दोषीले सजाय नपाउने नहोस्। किसान मल र बिल नपाउने अवस्था छ। कोरोनाले समस्यामा परेका किसान यसले झन समस्यामा पर्ने निश्चित छ।
रंगमती शाही
बीच बाटोमा अलपत्र परेका नेपालीको कहिले उद्धार हुन्छ भनेर सोध्छन्। सरकारलाई सोध्यो उद्धार हुन्छ भन्छ तर हुँदैन। संसद् विकास कोषको रकम के मा खर्च हुन्छ भनेर जनता सोधिरहेका छन्। हामीले विकासमा खर्च गर्छ भन्यौँ तर जनताले हामी नबाँचे के का लागि विकास भनेर सोध्न थालेका छन्। त्यसैले यो कोष जनताको उपचारमा खर्च गरियोस्। यो कोष खारेज गरेर कोरोना उपचार कोष बनाऔं।
राजन केसी
आरडिटी विश्वसनीय छैन। किन स्वास्थ्यमन्त्री यो किनेर जनतालाई अलमलमा राख्न चाहनुहुन्छ। जनतालाई आतंकित पार्ने काम किन हुँदैछ। चन्द्रागिरी नगरपालिका मेरो क्षेत्र हो। त्यहाँ हामीले आरडिटी टेस्ट गर्यौं। ५६ जना संक्रमित फेला परे। उनीहरु क्वारेनटाइनमा बसे। पाँच दिनपछि पिसिआर गर्दा उनीहरुमा कोरोना देखिएन। उनीहरु पाँच दिनसम्म कति तनावमा रहे। यो आरडिटीले आतंकमात्र फैलायो। यो कार्य किन गरियो? आरडिटी किन्न कसले सिफारिस गर्यो।
रेखा शर्मा
हजारौँको संख्यामा नेपाली भारतबाट भित्रँदै छन्। क्वारेनटाइन र आइसोलेन राम्रो नहुँदा भयावह अवस्था हुँदैछ। तत्काल परीक्षण किट सबै प्रदेश र स्थानीय तहमा पठाउन माग गर्दछु। सरकारले तत्काल आवश्यक किट र स्वास्थ्य सामग्री खरिद गरी सबै ठाउँमा पठाउन माग गर्दछु। परीक्षण बढाउन पनि आवश्यक भएकाले यसलाई पनि बढाउन माग गर्दछु।
मात्रिका यादव
कोरोना भाइरसविरुद्ध हाम्रो तयारी काम चलाउ मात्र भयो। अब दीर्घकालीन रणनीति बनाऔँ। नेपालीहरुको उद्धारको विषयमा पनि प्राथमिकता दिऔँ। म त सरकारकै पार्टीको सांसद् भएकाले धेरै बोल्न मिलेन। तर यही रोष्टमबाट कोही भोकै मर्दैन, कोही भोकै पर्दैन भनेकाले यही अनुसार काम गरौँ। हाम्रो व्यवस्थापन भई परेर आउने जस्तो भयो। हामीले दीर्घकालीन रणनीति बनाउन सकेनौँ। विदेशमा रहेका नेपालीहरुलाई उद्धार गर्ने विषयमा कहिले बाटो बन्द गर्ने र कहिले खुल्ला हँदा समस्या भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।