काठमाडौं- सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्नेभन्दा कुटनीतिक माध्यमबाट समाधान गर्ने योजनामा रहेको बताएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गरिने बताए।
सरकारले नेपालको भाग समावेश गरी नक्सा जारी गरेको र अब अरू प्रक्रिया पनि अघि बढ्ने उनले बताए। नेपालको भूभाग विवाद अहिले नै अन्तर्राष्टिकरण गर्नेबारे सरकारले नसोचेको उनले बताए। अहिले सरकारले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने नीति लिएको उनले बताए।
‘पहिलो कूटनीतिक रुपमा वार्ता गरौं’ अर्थमन्त्री खतिवडाले भने‚ ‘त्यसबाट समाधान ननिस्किए त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ।’
सरकारले जारी गरेको नक्सामा भारतले स्वीकार नगर्ने टिप्पणी आएकाले यो विषयमा अब सरकार कसरी अगाडि बढ्छ भनी सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।