काठमाडौं- नेकपाका सांसद विष्णु पौडेलले सरकारले सदनमा पेश गरेको नीति तथा कार्यक्रम सत्तापक्ष र प्रतिपक्ष दुबैको सहमतिमा पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।
सोमबार प्रतिनिधि सभामा बोल्दै पौडेलले महामारीको समयमा सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको दाबी गरे। भूमि बैंक स्थापना तथा कृषिमा रोजगारी वृद्धी गर्ने जस्ता राम्रा कार्यक्रम नीति तथा कार्यक्रमा ल्याएको उनले बताए।
‘नीति तथा कार्यक्रमको लामो वा छोटो भनेर खोजिनु हँुदैन’, उनले भने ‘यसले बोकेका कार्यक्रमहरुमा के छन भनेर खोज्न पर्छ।’
नीति तथा कार्यक्रमले यो सरकार नेपालको भूमि रक्षा गर्न अडान देखाएको उनले बताए। लिपुलेक र कालापानी लगायतका क्षेत्र समेटेर नक्सा जारी गर्ने भनि सरकारले नीति तथा कार्यक्रमा राखेको कुरा ऐतिहासिक भएको उनले बताए।
विगतदेखि थाँती रहेका र हाल उत्पन्न भएका समस्या वार्ताबाट समाधान गर्न चाहान्छ भन्ने सरकारको कामले देखिएको उनले बताए। यो नीति तथा कार्यक्रमले सरकार सबै छिमेकीसँग असल सम्बन्ध राख्न चाहान्छ भन्ने देखाएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।