काठमाडौं- नेकपा सांसद महेश बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गर्दै आलोचनाकै लागि आलोचन नर्गन आग्रह गरेका छन्। नीति तथा कार्यक्रमबारे बोल्दै बस्नेतले हिजो सत्तामा हुँदाका भ्रष्टाचारी र राष्ट्रघातीहरु अहिले रातराता राष्ट्रवादी भएको आरोप पनि लगाए।
कोरोनाको महामारी नियन्त्रण गर्न र भारतले मिचेको भूमिका विषयमा सरकारले नक्सा जारी गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गनुए राम्रो भएको उनले बताए। ‘केही सांसदले भारतको सहमतिविना नक्सा जारी गर्न मिल्दैन भन्नु भएको सुनियो’, बस्नेतले भने ‘प्रतिपक्षका सांसदहरुले यसलाई पनि संशोधन गर्न प्रस्ताव राख्नु भयो।’
अहिले विश्वभरको अर्थतन्त्र ऋणात्मक भएकोे अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रम सही भएको उनले बताए। ‘सबै क्षेत्र धरासयी भएको छ यही कारण सरकारले कृषि क्षेत्रमा पाँच लाखलाई रोजगारी दिने भनेको छ’, उनले भने ‘१३ लाख रोजगारी कृषिमा दिने लक्ष्य सरकारले राखेको छ। भारतबाट आएका मानिसले पाएको रोजगारी नेपालीले नै गर्न सक्ने हो भने सात लाख मानिसले रोजगारी पाउने छन्।’
सञ्चार उद्योग र औद्योगिक क्षेत्र धरासायी भएकाले त्यसलाई सहयोग गर्ने गरी सरकारको नीति तथा कार्यक्रमा ल्याएको दाबी उनले गरे। ‘सरकारले रेलदेखि स्मार्ट सिटीसम्मका कुरा गरेको छ, मेलम्ची काठमाडौ ल्याउने र सरकार धेरै व्यवस्थित रुपमा अगाडी बढ्ने कुरा आएको हो’, उनले भने ‘यो एमसिसीसँग नजोडौँ यो आए पनि नआए पनि हामीले बनाउनु पर्ने छ ।’
नीति तथा कार्यक्रमको सारपक्षलाई बुझ्न नसकेर आलोचना भएको आरोप पनि उनले लगाए। नाकाबन्दीको समयमा सरकारले लिएको अडान अहिले पनि कायम रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।