काठमाडौं- जीवन बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थप आक्रामक देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा १३ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
१९ वटा जीवन बीमा कम्पनीले यसै अवधिमा ४५ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नेपाल लाइफको मात्रै बजार हिस्सा ३० प्रतिशत छ।
कम्पनीले प्रिमियम रकममा उल्लेख्य सुधार गरे पनि बजार हिस्सा भने घटेको हो। पहिलो त्रैमासिक अवधिमा कम्पनीको बजार हिस्सा ३३ प्रतिशतभन्दा माथि थियो। अन्य कम्पनीले पनि आफ्नो व्यवस्था थप विस्तार गर्दा बजार हिस्सा गुमाउनु परेको हो। हिस्सा गुमाए पनि आफ्नो व्यवसाय भने थप विस्तार गर्न सफल भएको छ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले ६ महिनाको अवधिमा ७ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
नयाँ सञ्चालनमा आएको जीवन बीमा कम्पनीमध्ये सबैभन्दा आक्रमक युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। बजार छिरेको दुई वर्ष पनि नबित्दै पुराना जीवन बीमा कम्पनीलाई उछिनिरहेको छ।
बीमा शुल्क आर्जनका हिसाबले कम्पनीको स्थान छैठौं नम्बरमा छ। कम्पनीले यसै अवधिमा दुई अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले पुराना जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान, सूर्या लाइफ, र गुरास लाइफलाई उछिनेको छ।
सबैभन्दा कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफले जम्मा २८ करोड रुपैयाँमात्रै बीमा शुल्क आर्जन गर्न सकेको छ। नयाँ आएका बीमा कम्पनीको बोनस दर धेरै कम हुने हुँदा बीमितहरुको रोजाइमा पुरानै बीमा कम्पनी पर्ने गरेका छन्।
नयाँ आएका जीवन बीमा कम्पनीहरुले गर्दा पुराना जीवन बीमा कम्पनीलाई थप फाइदा पुर्याएको छ। उनिहरुले जीवन बीमाको प्रचार प्रसार गर्दा पुरानालाई सजिलो बन्दै गएको छ। नयाँ जीवन बीमा कम्पनी बजारमा आए सँगै नेपालमा बीमाको पहुँच ८ प्रतिशतबाट बढेर २५ प्रतिशत नाघिसकेको छ।
त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा छ। कम्पनीले ६ महिनाको अवधिमा एक अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। शिखरको बजार हिस्सा भने १३.६ प्रतिशत छ।
त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले एक अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
केहि बीमा कम्पनीहरुले राम्रो व्यवसाय गरे पनि अधिकांशको व्यवसाय चुक्ता पुँजीभन्दा पनि कम छ। चुक्ता पुँजी भन्दा पनि व्यवसाय कम हुन थालेपछि पछिल्लो समय निर्जीवन बीमा कम्पनी समस्यामा छन्।
नयाँ आएको सानिमा जनरलको बीमा शुल्क आर्जन जम्मा १९ करोड रुपैयाँमात्रै छ। पुजीभन्दा व्यवसाय कम हुन थालेपछि कम्पनीहरु बीचमा अस्वस्थ प्रतिस्पर्धा हुन थालिसकेको छ।
कतिपय बीमा कम्पनीले राम्रा पुनर्बीमा कम्पनीमा आफ्नो जोखिम हस्तान्तरण समेत गर्न सकेका छैनन्।
जीवनबीमा कम्पनी | बीमा शुल्क आर्जन | जीवन बीमा कम्पनी | बीमा शुल्क आर्जन |
नेपाल लाइफ | 1396 | शिखर इन्स्योरेन्स कम्पनी | 182 |
एलआइसी | 769 | सगरमाथा इन्स्योरेन्स कम्पनी | 124 |
एशियन लाइफ | 583 | नेको इन्स्योरेन्स कम्पनी | 116 |
मेट लाइफ | 395 | सिद्धार्थ इन्स्योरेन्स कम्पनी | 107 |
प्राइम लाइफ | 241 | एनएलजी इन्स्योरेन्स | 93 |
युनियन लाइफ | 226 | प्रिमियर इन्स्योरेन्स | 85 |
राष्ट्रिय बीमा संस्थान | 177 | प्रमु इन्स्योरेन्स | 84 |
सूर्या लाइफ | 158 | हिमालयन जनरल इन्स्योरेन्स | 70 |
रिलायवल लाइफ | 108 | आइएमइ जनरल | 68 |
गुरास लाइफ | 94 | नेपाल इन्स्योरेन्स | 62 |
ज्योती लायफ | 74 | लुम्बिनी जनरल | 62 |
सिटिजन लाइफ | 71 | प्रुडेन्सियल इन्स्योरेन्स | 60 |
आइएमई लाइफ | 58 | ओरियण्टल इन्स्योरेन्स | 59 |
सन नेपाल लाइफ | 56 | नेशनल इन्स्योरेन्स | 45 |
रिलायन्स लाइफ | 43 | एभरेष्ट इन्स्योरेन्स | 41 |
सानिमा लाइफ | 40 | अजोड इन्स्योरेन्स | 41 |
प्रभु लाइफ | 30 | युनाइटेड इन्स्योरेन्स | 36 |
महालक्ष्मी लाइफ | 28 | जनरल इन्स्योरेन्स | 29 |
जम्मा | 4547 | सानिमा इन्स्योरेन्स | 19 |
Grand Total | 5930 | जम्मा | 1383 |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।