सुदूरपश्चिम महोत्सव आजदेखि, प्रमुख अतिथिलाई सात बुँदे मागसहित सात किलोको माला

| २०७६ मङ्सिर २२ आइतबार | Sunday, December 08, 2019 ०८:३४:०० मा प्रकाशित

धनगढी- कैलाली उद्योग वाणिज्य संघकाे आयोजनामा आइतबारदेखि सुदूरपश्चिम महोत्सव, २०७६ धनगढीमा सुरु हुँदैछ। 'समृद्ध सुदूरपश्चिमका लागि: आर्थिक समृद्धि’ भन्ने नाराका साथ धनगढीको संघीय प्रहरी इकाइ कार्यालय मैदानमा महोत्सव सञ्चालन हुन लागेकाे संघले जनाएको छ।

उद्योग वाणिज्य संघले हरेक वर्ष महोत्सवका अवसरमा प्रमुख अतिथिलाई विभिन्न मागसहित माला लगाइ दिने गरेकाे छ। संघका अध्यक्ष पुष्प कुँवरले यस वर्ष प्रमुख अतिथिलाई सात बुँदे मागपत्रसहित सात किलोको माला लगाइने जानकारी दिए।

हरेक वर्ष राज्यको कार्यकारी पदमा रहेका व्यक्तित्वबाटै महोत्सवको समुद्घाटन गरिने गरेको थियो। गत वर्ष प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सवको उद्घाटन गरेका थिए भने यस वर्ष नेकपा नेता एवं पूर्वउपप्रधान, रक्षा तथा गृहमन्त्री भीमबहादुर रावलले समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

संघका अध्यक्ष पुष्प कुँवरले १४ वर्षदेखि सञ्चालन हुँदै आएको महोत्सवले उठाएका हालसम्म २१ बुँदामध्ये ६  बुँदा सम्बोधन भइसकेको बताए। उनले भने, 'देश संघीयतामा प्रवेश गरेसंगै मागका बुँदाहरु संघ, प्रदेश र स्थानीय तह गरि तीन ठाउँबाट सम्बोधन हुने भएकाले यस वर्ष संघीय सरकारसंग सात बुँदे मागपत्र पेस गरिन लागेको छ।’

महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधिसहित बाल उद्यान गरी तीन सय स्टल रहने आयाेजकले जनाएकाे छ। संघले महोत्सवमा एक करोड दुई लाख ४२ हजार रुपैयाँ आम्दानी तथा ६३ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। महोत्सव करिब तीन लाख व्यक्तिले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ।

महोत्सवमा यस वर्ष प्रवेशमा विगतकै शुल्कलाई निरन्तरता दिइएको छ। आयोजकका अनुसार विद्यार्थीलाई ४० र सर्वसाधारणलाई प्रवेशमा ५० रुपैयाँ शूल्क निर्धारण गरिएको छ।

एक रुपैयाँ अभियान जारी
कैलाली उद्योग वाणिज्य संघले यस वर्ष पनि एक रुपैयाँ अभियान जारी राखेको छ। महोत्सवको टिकटबाट संकलन भएको रकमबाट विपद कोष र लागूऔषध दुर्व्यशनी नियन्त्रणका लागि कोषमा राखिने आयोजकले जनाएको छ। संघका अध्यक्ष पुष्प कुँवरले भने, ‘विपद् जुनसुकै समयमा पनि आउन सक्ने भएकाले राहत उपलब्ध गराउन सहयोग पुगोस् भनेर विपद कोषमा सहयोग गर्ने निर्णय भएको हो।’

यस्तै  टिकट बिक्री रकमको १० प्रतिशत नेपाल रेडक्रस सोसाइटी कैलालीलाई प्रदान गरिने छ। उनले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि एक स्थानीय तह एक पर्यटन गन्तव्यको प्रदर्शनी समेत राखिने बताए।

मागपत्र
मागपत्रमा संघले गौरीफन्टा नाकाको स्तरोन्नती तथा सुदूरपश्चिमलाई चीनसँग जोड्ने नाका खोल्ने, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती विषय समेटेकाे छ। यस्तै प्रदर्शनीस्थल निर्माण, सुख्खा बन्दरगाह, सुदूरपश्चिममा औद्यौगिक कोरिडोर, पर्यटन क्षेत्रमा पूर्वाधार विकास, वित्तिय संस्थाहरुले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा अलिकता परिवर्तन गरेर त्यसको प्याकेज पनि फरक होस् भन्ने माग पनि समेटेकाे जनाइएको छ।