काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेड एक आपसमा गाभिई शुक्रबारबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू भएको छ।
दुई वाणिज्य बैंक गाभिएर एउटा बनेपछि वित्तीय क्षमताका आधारमा उक्त बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। उक्त बैंकको प्राथमिक पुँजी २४ अर्ब, चुक्ता पुँजी १९ अर्ब, निक्षेप संकलन २ खर्ब १२ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब पुगेको छ।
बैंकको देशभर ८ सय ४० बढी सेवाकेन्द्र र २ सय ५९ एटिएम सञ्जाल रहेका छन्। सरकारी राजस्वमा गत आर्थिक वर्षमा ३ अर्ब बढी योगदान गरेका दुई बैंकमा ३ हजार २ सयभन्दा बढी कर्मचारी कार्यरत छन्। सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको ग्लोबल आइएमई लिमिटेड यो अवस्थासम्म आइपुग्न १२ वर्ष अवधिमा डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरिएको छ।
यस अवधिमा ग्लोबल बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेड, प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेड, सोसयिल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, आइएमई फाइनान्स लिमिटेड, लर्ड बुद्ध फाईनान्स लिमिटेड, कमर्ज एण्ड ट्रस्ट बैंक लिमिटेड, शुभलक्ष्मी फाइनान्स लिमिटेड र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर तथा प्राप्ति गरेको छ।
सन् २००७ जनवरी २ मा स्थापना भएको क वर्गको वाणिज्य बैंक ग्लोबल बैंक लिमिटेडले सन् २०१२ मा ग वर्गको आइएइमई वित्तीय संस्था र लर्ड बुद्ध फाइनान्स लिमिटेडसँग मर्जर गर्यो। यसरी गाभिएका तीनवटा संस्थाले ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु गरे। ग्लोबल आइएमईसँग सन् २०१३ मा सोसियल डेभलपममेन्ट बैंक र गुल्मी विकास बैंक मर्ज भए।
सन् २०१४ मा क वर्गको अर्को बैंक कमर्ज एण्ड ट्रस्ट बैंक ग्लोबल आइएमई बैंकसँग गाभिन आईपुग्यो। सन् २०१६ र २०१७ मा ग्लोबल आइएमई बैंकले ख वर्गको प्यासिफिक डेभलपमेन्ट र रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्यो। सन् २०१९ मा ग वर्गको वित्तीय संस्था ह्याथवे फाइनान्स लिमिटेडलाई प्राप्ति गर्यो।
त्यस्तै, सन् २०१० अप्रिल ५ मा स्थापना भएको जनता बैंक लिमिटेडले ग्लोबल आइएमई बैंकसँग मर्जरमा जानुअघि विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर प्राप्ति गरेको हो। यो बैंकले एकता विकास बैंक, नेपाल आवास फाइनान्स लिमिटेड, पब्लिक डेभलपमेन्ट बैंक लिमिटेड, ब्राइट डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर र प्राप्ति गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।