कलाकार सुरवीर पण्डित ‘दाह्री बा’को नाममा परिचित छन्। लामो समयदेखि फिल्म र टेलिचलचित्रमा अभिनय गर्दै आइरहेका उनी हाल हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सक्रिय छन्। उनलाई प्रायः झपक्क दाह्रीमा देख्न सकिन्छ। उनै ‘दाह्री बा’ सँग नेपाल लाइभका समर्पण श्रीले ‘दाह्रीकै बारेमा संवाद गरेका छन्:
दाह्री पालिरहनुभएको छ है?
हजुर पालिरहेकै छु।
कहिलेदेखि पाल्न थाल्नुभयो?
बच्चैदेखि फिल्म खेल्ने र कलाकार बन्ने सोख थियो। सानैदेखि निर्देशकहरूले बुवा र हजुर बुवाको रोल दिन थाल्नुभयो। १८ वर्षमा मैले आफूभन्दा जेठो मान्छेको बुवा बनेर अभिनय गरेको थिएँ। त्यसबेलादेखि नै दाह्री पाल्न थालेँ।
सुरुमा नक्कली दाह्री पनि राख्नुभयो?
राखेँ नि। तर, प्राकृतिक नहुने रैछ। गम लगाएर टाँसिएको हुन्थ्यो। बोल्दा र हाँस्दा छाला च्याप्प समाउने। चलाउन पनि नमिल्ने। कुरा गर्दा दाह्री चलाउँदै मुसार्दै गर्न पाइन्छ नि। तर, नक्कली हाल्दा त्यो नपाइने। उक्किहाल्ने।
आफ्नै दाह्री भयो भने सेतो दलेर पनि परिपक्व देखिन्थ्यो नि।
पछिल्लो समय दाह्री पाल्ने चलन चलिरहेको छ। तपाईंले पाल्दा त्यो चलन थियो?
थिएन। मैले पाल्दा दाह्री पाल्ने चलन थिएन। त्यतिबेला फिल्मका खलपात्रले मात्र पाल्थे। मेरो चाहिँ भिलेन भन्दा नि बुबा/हजुरबाको भूमिका भएर पाल्नुपर्ने भयो।
सानोमा दाह्री नपलाउँदा पाल्नेहरूप्रति के सोच्नुहुन्थ्यो?
(हाँस्दै) सानो छँदा दाह्री पाल्ने मान्छेदेखि घिन लाग्थ्यो। फोहोरी लाग्थ्यो। तर अहिले आफैंले पाल्नुपरेको छ।
दाह्री पाल्नेसँग डर पनि त लाग्थ्यो होला नि?
डर लाग्दै थियो। मनचाहिँ पर्दैन थियो।
पूरै 'सेभ' नगर्नुभएको कति भयो?
धेरै भयो। पछिल्लो पटक डेढ वर्षअगाडि फिल्म ‘जय भोले’ खेल्दा काटेको थिएँ। त्यसपछि त काटेको छैन। पालेको पाल्यै छु।
दाह्री पालिरहँदा कहिलेकाहीँ काटुँजस्तो लाग्दैन?
पाल्दा झ्याउ चाहिँ लाग्दैन। बरु काटिरहँदा अफ्ठेरो हुन्छ। सेभ गर्न आउँदैन। सेभ गर्दा धेरै घाउ लाग्छ। सैलुनमा गएर काट्न मन लाग्दैन। सजिलो त दाह्री पाल्दा नै हुने हो।
तपाईंलाई त ‘दाह्री बा’ भनेर धेरैले चिन्छन् नि?
'मेरी बास्सै'मा निर्देशकले राखेका हुन् यो नाम। 'मेरी बास्सै'को सुरुवातदेखि भनेको त हैन। बीचतिर एउटा साथीले ‘दाह्री बा’ भनेर जिस्काए। त्यसपछिचाहिँ ‘दाह्री बा’ हुन गएँ।
सुरुमा ‘दाह्री बा’ भनेर बोलाउँदा रिस उठेन?
रमाइलै भएको थियो। उपनाम हुने भयो भन्ने लागेको थियो।
तपाईंलाईं सुरवीर पण्डित भनेर कतिले चिन्छन् त?
दाह्री बा भनेर नै बढी चिनिन थालेँ अहिले त। कतिपयले पहिलो पटक भेट्दा तपाईं 'मेरी बास्सै'मा खेल्ने दाह्री बा हैन? तपाईंको नाम चाहिँ के पर्यो भनेर सोध्छन्।
दाह्री पाल्नु र नपाल्नुको फरक अनुभव के छ?
गहना लाइरहेको मान्छेले गहना फुकाल्दा बुच्चो देखिन्छ नि। दाह्री काट्दा केही नपुगेको जस्तो नसुहाउने रैछ।
दाह्री पाल्दा साथीभाइ आफन्तले के भन्छन्?
फोहोरी र बुढो देखियो भन्छन्। काट्दा सुहाउँछ भनेर भन्छन्। कहिलेकाहीँ लामो देखिँदा नसुहाएको कुरा गर्नुहुन्छ उहाँहरू।
उहाँहरूले भनेको ठीक हो जस्तो लाग्छ त?
सही नै हो जस्तो लाग्छ। आफूलाई कस्तो लाग्छ भन्दा देख्ने मान्छेको नै विश्वास लाग्छ। तर, पाल्ने बानीनै भइसक्यो अब त।
सधैंभरि पाल्ने सोच बनाउनुभएको छ?
त्यस्तो सोच केही बनाएको छैन। राम्रो निर्देशक वा ब्यानरले दाह्री काट्नुस् तपाईंको राम्रो भूमिका छ भन्यो भने काट्छु पनि। काट्दै नकाट्ने भन्ने पनि हैन। कथा अनुसार लामो पाल्नु पर्यो भने अझै लामो हुन्छ।
दाह्री मुसारिरहने बानी छ?
(हाँस्दै) छ नि। कुरा गरिरहँदा मुसारेरै कुरा गर्ने बानी छ।
दाह्री पाल्दा अफ्ठ्यारो के हुने रहेछ?
खाना खाँदा दाह्री झर्ने रहेछ। कहिले त घाँटीमै पुग्दो रहेछ निलेर। थाहा नै नहुने। दही भात खाँदाचैं खानामा परेको देखिन्छ।
दाह्रीलाई कतिको ध्यान दिनुहुन्छ?
सरसफाइ गर्छु। हरेक दिन नुहाउँदा सफा गर्छु। अनि मिलाएर कोर्छु।
पाल्दाको रमाइलो पक्ष के रहेछ?
छालालाई सुरक्षा दिन्छ। परिपक्व पनि देखिन्छ। सार्वजनिक यातयातमा जाँदा परिपक्व मान्छे भनेर सम्मान पाइने रहेछ।
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।