काठमाडौं- सरकारले केही वस्तुको भन्सार तथा करका दरमा गरेको परिवर्तन प्रति नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ। कात्तिक २५ मा प्रकाशित नेपाल राजपत्रको सूचनाअनुसार आर्थिक ऐन २०७६ को प्रावधान संशोधन गरेको हो।
आर्थिक ऐन २०७६ लागू भएको चार महिना नसकिँदै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने चेम्बरको धारणा छ। ‘उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भएपश्चात एक वर्षको लागि आफ्नो व्यवसायीक योजना बनाइ तदनुरुप आफ्नो व्यवसाय संचालन गर्ने र सोही अनुरुप अग्रिम रुपमा कारोवार गरि रहेका हुन्छन्,’ चेम्बरले विज्ञप्तिमा भनेको छ।
राजपत्रको सूचनाअनुसार कुखुरापालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा रङ कम्पनीको कच्चा पदार्थ 'एक्रेलिक इमल्सन’मा दिइएको छुट सकारात्मक भएको चेम्बरको भनाइ छ।
तर व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुन तथा चाँदीमा प्रति १० ग्राममा लाग्ने महशुल दरमा वृद्धि र विदेशबाट फर्केका यात्रुहरुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा भएको महशुल दरमा भएको वृद्धिले व्यवसायीलाई निरुत्साही बनाएको चेम्बरको दाबी छ।
कपालमा प्रयोग हुने कस्मेटिक्स, फलाम वा इस्पातको सरसफाइ सम्वन्धि सामान तथा कफीमा भएको अन्त:शुल्क वृद्धिले एकातर्फ अनधिकृत व्यापार वृद्धि हुने सम्भावना प्रवल रहने हुन्छ भने अर्को तर्फ यसबाट मालवस्तुको मूल्य वृद्धि हुन गइ उपभोक्तालाई प्रत्यक्षरुपमा नकारात्मक असर पर्ने चेम्बरको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।