काठमाडौं– मुलुकभित्र उद्यमशीलताको प्रवर्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको प्रमुख औद्योगिक एवं व्यावसायिक क्षेत्रका उद्योगपतिलाई स्वदेश फर्कने क्रममा पक्राउ गरी हिरासतमा लिएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुका साथै हजारौंलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलो राजस्व समेत बुझाउँदै आएको मुलुकका प्रतिष्ठित उद्योगपतिमाथि विना सोचविचार हतारहतार गरिएको यस प्रकारको व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने अवस्था आएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उद्योगी तथा व्यवसायीहरूमाथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकूल प्रभाव पर्नसक्ने सम्भावनातर्फ समेत महासंघले ध्यानाकर्षण गराएको छ। मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सबै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग जोडदार माग गरेको छ।
यसैबीच शुक्रबार नेपाल चेम्बर अफ कमर्सले पनि व्यवसायी रुप ज्योति पक्राउको विषयमा विरोध गर्दै विज्ञप्ति निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।