नयाँदिल्ली– चिनियाँ सवारी उत्पादक कम्पनीहरुले भारतमा ठूलो लगानी गरिरहेका छन्। भारत सवारीको ठूलो बजार भएको र भारतलाई आधार मानेर वरपरका देशहरुलाई लक्षित गर्दै चिनियाँ सवारी उत्पादक कम्पनीहरुले लगानी बढाएको द इकोनोमिक टाइम्सले लेखेको छ।
चीनको सबैभन्दा ठूलो एसयुभी उत्पादक ग्रेटवाल मोटर्सले भारतमा सवारी उत्पादन प्लान्टमा करिब ७ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। ग्रेटवाल मोटरले भारतमा सहायक कम्पनी हाभाल मोटरमार्फत उक्त लगानी गर्ने भएको छ।
सो कम्पनी गुणगाउँमा गत अक्टोबरमा स्थापना भएको हो। यो कम्पनी भारत सरकारले दिएको कर्पोरेट कर छुट (१५ प्रतिशत) पाउन योग्य नभएको समाचारमा उल्लेख छ। छुट नपाउँदा भारतमा कर्पोरेट करको दर १७.०१ प्रतिशत रहेको छ।
हाभाल मोटरका अध्यक्ष वी जियानजुनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि औपचारिक घोषणा गर्ने भएको छ। अर्को साताका लागि प्रधानमन्त्रीसँग भेट तय भएको छ। कम्पनीले भारतको पाँच राज्य महाराष्ट्र, गुजरात, कर्नाटक, आन्द्र प्रदेश र तामिल नाडूमध्ये एकमा प्लान्ट स्थापना गर्ने योजना बनाएको छ।
यसअघि फोटोन मोटर्सले भारतमा प्लान्ट स्थापनको घोषणा गरिसकेको छ। त्यस्तै भारतबाट बाहिरिएको जनरल मोटर्सको प्लान्ट चिनियाँ कार उत्पादक एसएआइसीले खरिद गरेको हो। सो कम्पनीले एजीका कार भारतमै उत्पादन गरि बिक्री गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।