काठमाडौं- साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा आबद्ध सबै कर्मचारीहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेबारे छलफल भएको छ। यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको निवासमा बैंकका प्रतिनिधि र मन्त्रीबीच छलफल भएको हो।
छलफलका क्रममा साना कृषि सहकारीका प्रतिनिधि सकारात्मक रहेको जनाइएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आगामी मंसिर १३ गतेभित्र सम्पूर्ण रोजगारदाता तथा श्रमिक सूचूकृत भइसक्नु पर्ने कोषले जनाएको छ।
कोषमा सूचीकृत हुन अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ। रोजगारदाता तथा श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत भइसकेपछि योगदान वापतको केही रकम मासिकरुपमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ।
जसमा श्रमिकले पाउँदै आएको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी मासिकरुपमा कोषमा ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ। योगदानकर्ताले कोषमा रकम जम्मा गर्न सुरु गरेपछि कोषका विभिन्न योजनाहरुमा योगदानकर्ताहरु समेटिने प्रावधान छ।
कोषले प्रारम्भिक चरणमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धअवस्था सुरक्षा योजना गरी ४ वटा योजना अघि सारेको छ।
कोषमा जम्मा भएको योगदानकर्ताहरुको रकमबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सूरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता योजनाका लागि १ दशमलव ४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलव ३३ प्रतिशत गरी कुल ३१ प्रतिशत रकमलाई बाँडफाँट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।