काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालको कूल गार्हस्थ उत्पादन र ऋणको अनुपात ३१.३२ प्रतिशत पुगेको छ। यस वर्ष सरकारको ऋण बढ्दा ऋण र कूद गार्हस्थ उत्पादनको अनुपात बढेको हो।
गत आर्थिक वर्षको यही अवधिमा यस्तो अनुपात ३०.०६ प्रतिशत थियो। गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनामा यस वर्ष ऋण र कूल गार्हस्थ उत्पादनको अनुपात १.२६ प्रतिशत विन्दुले बढेको छ। सरकारले पूर्वाधार विकास र अन्य कामका लागि आन्तरिक तथा बाह्य स्रोतबाट ऋण बढाउँदा एक वर्षको अन्तरालमै ऋणको आकार बढेको देखिएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बाह्य ऋण र कूल गार्हस्थ उत्पादनको अनुपात १८.२३ प्रतिशत रहेको छ। यसैगरी आन्तरिक ऋण र कूल गार्हस्थ उत्पादनको अनुपात १३.०२ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा सरकारको ऋण ३.५४ प्रतिशतले बढेको छ। यो अवधिमा बाह्य ऋण ६.२ प्रतिशतले र आन्तरिक ऋण ०.०६ प्रतिशतले बढेको हो।
असोज मसान्तसम्ममा सरकारको ऋण १० खर्ब ८४ अर्ब ९६ लाख रुपैयाँ पुगेको छ। यसमध्ये बाह्य ऋण ६ खर्ब ३१ अर्ब ४७ करोड र आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब ४९ करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ।
यो अवधिमा सरकारको बाह्य ऋण ३६ अर्ब ८५ करोड रुपैयाँले बढेको छ। योमध्ये १५ अर्ब ९० करोड रुपैयाँ विदेशी विनियम क्षति (डलरमा भएको परिवर्तनका कारण) बढेको र बाँकी रकम खर्च भएको कार्यालयले उल्लेख गरेको छ।
सरकारले यो अवधिमा २३ अर्ब ३९ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ। आन्तरिक र बाह्य दुवै स्रोतबाट यो रकम प्राप्त गरेको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। सरकारले बहुपक्षीय दाताबाट १९ अर्ब ९ करोड रुपैयाँ ऋण लिएको छ। यो रकम कूल ऋणको ७८ प्रतिशत हो। बाँकी २२ प्रतिशत ऋण द्विपक्षीय दाताबाट लिएको छ।
चालु वर्षको पहिलो त्रैमासमा सरकारले ६ अर्ब ३० करोड रुपैयाँ ऋण तिरेको छ। यो मध्ये ३ अर्ब ५९ करोड करुपैयाँ आन्तरिक ऋण र २ अर्ब ७२ करोठ रुपैयाँ बाह्य ऋण तिरिएको हो।
सरकारले विदेशी ऋणदातालाई २ अर्ब १८ करोड रुपैयाँ साँवा र ५४ करोड रुपैयाँ ब्याज तपरेको छ। आन्तरिक ऋणतर्फ कूल भुक्तानी भएको रकम नै ब्याजका लागि तिरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।