काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले व्यवसायी एवं पूर्व अर्थराज्यमन्त्री रुप ज्योतिको गिरफ्तारीको विरोध गरेको छ। चेम्बरका महानिर्देशक कैलाशकुरमा बजिमयले विज्ञप्ति जारी गर्दै उनको गिरफ्तारीको विरोध गरेका हुन्।
अपराध प्रमाणित नभई उजुरीको भरमा ज्योतिलाई पक्राउ गर्दा निजी क्षेत्र मर्माहत भएको विज्ञप्तिमा जनाइएको छ। व्यवसायीको गिरफ्तारीले लगानीमैत्री वातावरणमा प्रभाव पर्ने पनि चेम्बरले उल्लेख गरेको छ।
चेम्बरले कानुनको परिपालनाका क्रममा व्यवसयीको सम्मान होस् भन्ने आफ्नो चाहना रहेको पनि जनाएको छ। व्यापारी ज्योतिलाई घरजग्गा व्यवसायमा ठगी गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको थियो।
सिंगापुरबाट काठमाडौं फर्कने क्रममा ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो। ज्योतिलाई ३ दिन थुनामा राख्न शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।