काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगतिका लागि तगारो आइलागे मात्रै संविधान संशोधन हुने बताएका छन्।
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयजिक कार्यक्रममा मन्तव्य दिँदै प्रधानमन्त्रीले तत्काल संविधान संशोधन हुने कुरा अस्वीकार गरेका हुन्। खासगरी तराई–मधेसकेन्द्रित दलहरुले संविधान संशोधन हुनुपर्ने माग जारी राखेको अवस्थामा प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।
प्रधानमन्त्री ओलीले सरकारबाहिर रहँदा पनि संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा मात्र हुने बताउँदै आएका थिए। आज पनि सोही अडानमा दोहोर्याउँदै प्रधानमन्त्री ओलीले अग्रगतिको अवरोध भएमात्र संशोधन हुने भन्दै स्पष्ट पारेका हुन्।
‘संविधानको कुन धारा, दफा वा भागमा के कति अधिकार रह्यो वा रहेन जस्ता विषय अल्झिनेभन्दा जुन बेला जे मिल्दैन, जुन अग्रगतिका लागि तगारो बन्छ त्यही बेला सोच्न सरकार तयार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसलाई त्यही बेला विधिसम्मत ढंगले मिलाउँदै/सच्याउँदै अगाडि बढ्न सकिन्छ।’
संविधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय जनता पार्टीले संविधान दिवसलाई 'कालो दिन' मानेको छ। सरकारमै रहेको समाजवादी पार्टीले पनि संविधान संशोधन नभएसम्म संविधान दिवस नमनाउने र कालो दिन पनि नभन्ने निर्णण गरेको छ। अन्य आदिवासी जनजातिसँग सम्बन्धित संघसंस्थाले पनि संविधान संशोधनको माग राख्दै आएका छन्। तर प्रधानमन्त्रीले विगतकै आफ्नो अडान अनुसार आवश्यकता र औचित्यको खोजी हुनुपर्ने भन्दै उनीहरुलाई जवाफ दिएका छन्।
प्रधानमन्त्री ओलीले सरकारले प्राप्त गरेका उपलब्धिहरुको चर्चा गर्दै सबैले बिर्सेका सपनाहरुलाई यो सरकारले ब्युँझाएको बताए। प्रधानमन्त्री ओलीले आफूले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए। ‘भन्नकै लागि त भन्न सकिन्छ नि- खै त रेल, खै त पानी जहाज? कहाँ छ सुरुङ खनेको?’ ओलीले भने, ‘कतिले सोधेका छन्- कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको? म विनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ। मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।