काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालको घरजग्गा व्यवसाय, सहकारी, सुन कारोबार र पुँजीबजारलाई सम्भाव्य जोखिमको क्षेत्र मानी प्राप्त उजुरीमाथि अनुसन्धान अघि बढाएको छ। नेपालमा आतंकवादमा लगानी (टेरोरिजम फाइनान्सिङ) को जोखिम नरहेको भन्दै विभागले ४ क्षेत्रलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ।
बिहीबार पत्रकारसँग अन्तरक्रिया गर्दै विभागका महानिर्देशक रुपनारायण भट्टराई तथा निर्देशक विनोद लामिछानेले नियमन नहुँदा घरजग्गा बजारमा गैरकानुनी क्रियाकलापबाट आर्जित लगानी प्रयोग भएको हुन सक्ने उल्लेख गरे। उनीहरुले नियमनकारी निकायको प्रभावकारी उपस्थिति नहुँदा सुन तथा सहकारी क्षेत्र पनि त्यसैको जोखिममा रहेको बताए।
'हामीसँग पर्याप्त विज्ञ जनशक्ति नभएका कारण सबै क्षेत्रको गहिरो अनुसन्धान त गर्न सकेका छैनौं, सेयर बजारमा पनि जोखिम रहेका केही सूचना आएका छन्,' महानिर्देशक भट्टराईले भने।
विभागले वित्तीय जानकारी इकाइ तथा अनुसन्धानमा संलग्न हुने अन्य निकायसँग पनि सहकार्य गरी विभिन्न क्षेत्रको अनुसन्धान अघि बढाइरहेको पनि भट्टराईले जानकारी दिए। 'हामीलाई अहिले पनि २ हजार उजुरी प्राप्त भएका छन्, ती सबैको अनुसन्धान एकैपटक गर्ने भनिएको होइन,' उनले भने, 'जोखिमका आधारमा अनुसन्धान अघि बढाउछौं।'
अर्को वर्ष नेपालले सम्पत्ति शुद्धीकरण निवारणमा गरेका सुधारको अनुगमन हुने भएकाले आवश्यक सूचक सुधार गरी अघि बढ्ने प्रयास भइरहेको पनि भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।