साहसी स्वयंसेविका

| २०७६ भदौ १९ बिहीबार | Thursday, September 05, 2019 ११:३०:०० मा प्रकाशित

स्वास्थ्य स्वयंसेविका कलुदेवी खड्का उमेरले आफैं अरूबाट स्याहारिनुपर्ने अवस्थामा पुगिसकिन्। तर, अझै उनलाई गाउँठाउँको सेवा गरेरै फुर्सद छैन। 

डडेल्धुरा जिल्लाको उत्तर–पश्चिममा पर्ने अजयमेरु गाउँपालिका–६ स्थित गालगाउँ सदमुकामबाट दुई घन्टाको पैदल दुरी र बैतडीको मेलैलीको सिमानामा पर्छ।  त्यही गाउँकी महिला स्वास्थ्य स्वयंसेविका हुन्, कलुदेवी। २३ वर्षदेखि यो गाउँमा कोही बिरामी पर्दा सल्लाह लिइने पहिलो व्यक्ति उनै हुन्। 

सेवा उमेरले होइन, मन र इच्छाशक्तिले गरिन्छ। यही कुरालाई प्रमाणित गरिरहेकी छिन्, ६८ वर्षीया कलुदेवी।

गाउँको चेतनास्तरको हिसाबले अझै बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनसमेत सकस पर्छ। त्यो समाजमा स्वास्थ्य स्वयंसेविका भएर काम गर्दाका दुःख अनगिन्ती छन्। शिक्षाका हिसाबले आफ्नो नाममात्र लेख्न सक्ने उनी अनुभवकै आधारमा स्वस्थ समाजका लागि सहयोगीको भूमिका निर्वाह गरिरहेकी छिन्।  

सन्तान छैनन् उनका। घरमा वृद्ध श्रीमान् छन्। उनीभन्दा पहिलेकीबाट दुई छोरा छन्। उनीहरू तराई बस्छन्। काम परे आउँछन्। तर, उनी भने पूरै गाउँकी हजुरआमा हुन्। सबैले उनलाई माया गर्छन्। 

उनी गर्वसाथ भन्छिन्, ‘यी गाउँका सबै केटाकेटी मेरा नातिनातिना हुन्।’ उनलाई पोलियो थोपा खुवाउँदा वा भिटामिन ‘ए’ खुवाउँदा आफ्नै सन्तानलाई खुवाइरहेको महसुस हुन्छ। 

कलुदेवीलाई अहिले विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी र गैरसरकारी संघ संस्थाले नाम लेख्नमात्र सिकाएका छन्। तर, उनलाई कुनै समस्याको औषधि कुन हो ? औषधिहरू कसरी सेवन गर्ने ? कस्तो अवस्थामा बिरामीलाई स्वास्थ्य संस्था पठाइहाल्ने भन्ने राम्रोसँग ज्ञान छ। यसैगरी रोग लाग्न नदिन के गर्ने भन्ने विषयमा समेत गाउँलेलाई सचेत गराइरहेकी हुन्छिन्। ‘पहिले–पहिले औषधिबारे केही आउँदैन थियो,’ उनी भन्छिन्, ‘अहिले अनुभवले स्वयंसेविकाले जानैपर्ने कुराहरू मलाई पनि आउँछन्।’

६८ घरधुरी रहेको गाउँमा एक आमा समूह छ। स्वयंसेविका कलुदेवीले मासिक रूपमा स्वास्थ्य क्षेत्रमा नभई गाउँका अन्य समस्या घर विवादको सुल्झाइदिनेदेखि गाउँका लागि विभिन्न सरकारी निकाय पुगेर योजना माग्नेसम्मका काम गर्छिन्।

अजयमेरु गाउँपालिकाका अनुसार स्थानीय स्वास्थ्य संस्थाहरूमा मासिक स्वंयसेविका बैठक बस्ने गरेका छन्। कलुदेवी पनि देवल स्वास्थ्य चौकीमा नियमित बैठकमा उपस्थित हुन्छिन्। 

नियमित हुने बैठकमा उनी वृद्ध भएकाले कतिपयले सहकर्मीले हेलाहोचो पनि गर्ने रहेछन्। उनले मन कुँड्याउँदै भनिन्, ‘त्यस्तो हुँदा अबबाट नआऊँ जस्तो लाग्छ तर मैले नगरे मेरो गाउँका छोराछोरी तथा गर्भवती आमाहरुरूो रेखदेख कसले गर्ला भन्ने हुन्छ। त्यसैले अझै सेवा दिइरहेकी छु।’ उनीसँग आफूले गर्न सक्छु भन्ने आत्मविश्वास अझै कायम छ।  

अजयमेरु गाउँपालिका–५ र ६ साबिकको देवलदिव्यपुर गाविसमा अहिले २३ जना स्वयंसेवी सेवारत छन् (राजुलमा १० र देवलमा १३ जना)। जसमध्ये कलुदेवी सबैभन्दा वृद्ध हुन् भने वडा ६ बस्ने कक्षा १२ पास गरेकी २५ वर्षीय पुष्पा जोशी कान्छी। देवल दिव्यपुर स्वास्थ्य चौकीका इन्चार्ज हिक्मत खडायतका अनुसार अजयमेरुमा ७७ जना महिला स्वयंसेवी सेवा दिइरहेका छन्। 

 

स्वास्थ्य चौकीमा हुने मासिक रिर्पोटिङ, स्वयंसेवी मासिक बैठक तथा विभिन्न समस्याबारे छलफल, आमा समूहको बैठक, दादुरा, पालियो लगायतका खोप दिइने काममा कलुदेवीको सक्रिय सहभागिता हुन्छ। झाडापखाला, समान्य ज्वरो रुघाखोकीको औषधि बिरामीलाई घरमै पुगेर दिने गर्छिन्। गर्भवती आमालाई विशेष निगरानीमा राख्ने, बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने, पाखुरा नाप्ने, तौल लिने, महिला हिंसाविरुद्धको अभियानलाई लैंगिक समानता र भेदभावविरुद्ध नीतिगत निर्णय तथा कानुन निर्माणका लागि दबाब सिर्जना गर्ने काममा समेत उनको सक्रियता रहने देवल स्वास्थ्य चौकीका अहेब तेज साउँद बताउँछन्। 

यो ग्रामीण तहसम्म फैलिएको र विशेषतः महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने स्वयंसेवीको सबैभन्दा ठूलो सञ्जाल हो। अर्को महत्वपूर्ण पक्ष के हो भने ती महिलाहरू सामान्यतः निम्न मध्यम वर्गीय परिवारका छन्। तिनीहरू ग्रामीण महिलाका हरेक सुख–दुःखमा नजिक रहेर काम गरिरहेका छन् र तिनका समस्यासँग परिचित छन्। ‘यहाँ काम गर्नुको पीडा हामीलाई थाहा छ,’ कलुदेवी भन्छिन्, ‘कहिलेकाहीँ कसैको मृत्यु भयो भने स्वास्थ्य स्वयंसेविका कारण भएको आरोप लाग्छ। हामीले विनाकारण सहनुपर्छ।’
अजयमेरु गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले पनि सेवा सुविधा तथा प्रोत्साहन भत्ता पाउने गरेका छन्। स्वयंसेविकालाई मासिक खाजा खर्च एक सय, पोसाक भत्ता सात हजार पाँच सय, प्रोत्साहन भत्ता दुई वडालाई दमासाही नौ हजार, भिटामिन ‘ए’ खुवाउन खटिएको दुई दिनको आठ सय र एक थान मोबाइल सेट उपलब्ध गराइएको अजयमेरु गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक गणेशबहादुर पालले बताए।

खटाइ अनुसारको पारिश्रमिक नपाएको गुनासो गर्दिनन्, कलुदेवी। उनलाई सेवामै आनन्द छ। जीवनको अन्तिम समयसम्म सेवामै रहने चाहना छ। त्यो साहस पनि छ। त्यसैले त आफ्ना नातिनी उमेरका स्वयंसेविकासँग काँधमा काँध जोडेर गाउँको सेवामा सक्रिय छिन्। 

उनको यही लगन र साहसलाई स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड २०१९बाट सम्मान गरिएको छ। उत्कृष्ट स्वास्थ्य स्वयंसेविका विधामा ९औं हेल्थ अवार्ड उनलाई प्रदान गरिएको हो।
 

स्वर्ण रजत कास्य जम्मा
भारत
७२ ५४ २५ १५१
नेपाल
४१ २७ ४२ ११०
श्रीलंका
२० ३९ ६१ १२०
पाकिस्तान
१८ २४ २६ ६८
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान