काठमाडौं- सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि राखेको बजेट खर्चको लक्ष्य पूरा गर्न नसकेको देखिएको छ। बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले खर्चको लक्ष्य घटाएको थियो। तर सरकारले संशोधित लक्ष्य पनि भेटाउन सकेन।
आर्थिक वर्ष २०७५/७६ को कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेटमा यो वर्ष ११ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँ बराबर मात्रै बजेट खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयको थियो। जुन कुल विनियोजित बजेटका करिब ९२ प्रतिशत हो। तर संशोधित लक्ष्यमा नै सरकारले करिब ८५ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ।
तीन वटै शीर्षकमा सरकारले गरेको खर्च लक्ष्यभन्दा कम देखिएको छ। आर्थिक वर्ष २०७५/७६ का लागि पुँजीगत शीर्षकमा कुल ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ विनियोजन भएको थियो। तर सरकारले आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै २ खर्ब ६५ अर्ब रुपैयाँ बराबर मात्रै विकास बजेट खर्च हुने लक्ष्य राखेको थियो। तर सरकारले उक्त लक्ष्य पनि पुरा गर्न सकेको देखिँदैन।
पुँजीगततर्फ संशोधित लक्ष्यमा पनि ७६ प्रतिशत मात्रै विकास बजेट खर्च भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए।
त्यसैगरी, चालुतर्फ पनि संशोधित लक्ष्यको ८६ प्रतिशत बराबर मात्रै बजेट खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ भने ९१ प्रतिशत बजेट खर्च भएको खत्रीले जानकारी दिए।
राजश्व संकलनको लक्ष्य ८ खर्ब ६० अर्ब रुपैयाँ बराबर राखिएकोमा वर्षान्तसम्ममा ८ खर्ब ३५ अर्ब रुपैयाँ राजश्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।