किन बढी हुन्छ महिलालाई थाइराइडको समस्या ? थाइराइडमा खाना बार्नुपर्छ कि पर्दैन?

डा दीपक मल्ल | २०७६ असार १४ शनिबार | Saturday, June 29, 2019 १९:५९:०० मा प्रकाशित

थाइराइड भनेको माानव शरीरको एक ग्रन्थी हो। यो ग्रन्थी हाम्रो घाँटीको बीचमा पुतली आकारको हुन्छ। दायाँ र बायाँ भागमा हुने ग्रन्थीलाई मासुले जोडेको हुन्छ। यो ग्रन्थी हाम्रो श्वासनली र खाना खाने पाइपको अगाडि भएको हुनाले पछि गएर शरीरका अन्य अंगहरूलाई पनि असर गर्ने गर्छ। 

थाइराइड हर्मोन निकाल्ने भएकाले ग्रन्थी भनिएको हो। यो ग्रन्थी आफंै सक्रिय हुँदैन। टाउकोमा पिट्युटरी ग्रन्थी हुन्छ। त्यहाँबाट टिएसएच भन्ने हर्मोन आयो भने थाइराइडबाट टी थ्री र टी फोर हर्मोन बनाउँछ। 

टी थ्री र टी फोर हार्मोनले शरीरमा हुने क्रियाकलापलाई नियन्त्रण गर्ने गर्छ।  

‘थाइराइड रोग र थाइराइड क्यान्सरको प्रभाव’ भन्ने नारासहित यस वर्षको थाइराइड दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। थाइराइड भएका बिरामीहरूको घाँटी दुख्दै जाने र डल्लो साह्रो भयो वा बढ्दै गयो भने क्यान्सर हुने सम्भावन हुन्छ। यसको उपचार गरिहाल्यो भने निको हुन्छ।

थाइराइड ग्रन्थीले उत्पादन गर्ने टी थ्री र टी फोर हर्मोनको खास काम एउटै हो। हाम्रो शरीरको थाइराइड ग्रन्थीमा दुई खालका ‘सेल’ हुन्छन्। फोलिकुलर सेल र पाराफोलिकुलर सेल। फोलिकुलर सेलले टी थ्री र टी फोर हर्मोन उत्पादन गर्छ। पाराफोलिकुलर सेलबाट क्लाल्सिटोनिन हर्मोन उत्पादन हुन्छ, जुन हर्मोन क्याल्सियमसँग सम्बन्धित हुन्छ। 

थाइराइड ग्रन्थीले उत्पादन गर्ने टी थ्री र टी फोर हर्मोनको काम करिब उस्तै हो। मानव शरीरमा टी फोर ज्यादा उत्पादन हुन्छ भने टी–थ्री त्यसको तुलनामा काम उत्पादन हुन्छ। टी फोर नै पछि टी थी्रमा रुपान्तरित हुन्छ। टी थ्रीको काम ज्यादा देखिए पनि टी फोर नै बढी उत्पादन हुन्छ। 

थाइराइड ग्रन्थीमा असर पर्दा टी थ्री र टी फोर हर्मोन कम÷बढी उत्पादन हुन्छ। मानिसको शरीरमा ‘अटो इम्युन’का कारण थाइराइड सम्बन्धी रोगहरू लाग्ने हुन्छ। कुनै रोगका कारण शरीरमा एन्टीबडी उत्पन्न हुन्छ र त्यसले थाइराइड ग्रन्थीलाई प्रभाव पार्छ। हाम्रो शरीरले थाइराइड सम्बन्धी रोगसँग प्रतिरोध नै गर्न सक्दैन। त्यसले गर्दा दुई प्रकारका हर्मोनहरू कि ज्यादा उत्पादन हुन्छ कि निकै कम उत्पादन हुन्छ। यसैले ‘अटो इम्युन डिजिज’का विभिन्न प्रकारमध्ये थाइराइड सम्बन्धी रोगहरूलाई पनि यसमा राखेका छौं। 

लक्षण 

हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन्। 

हाइपोमा मानिसहरू अनावश्यक किसिमले मोटाउँदै जाने, शरीर लोसे भएर जाने, सुस्त भएको जस्तो हुने, शरीर सुख्खा भएको जस्तो हुने र बच्चा पाउने उमेरका महिलाहरूको बच्चा नबस्ने, कब्जियत हुने लक्षण देखा पर्ने गर्छन्। 

हाइपरमा उल्टो लक्षण देखाउने गर्दछ। जति खाना खाएपनि दुब्लाउँदै जाने, हात खुट्टाबाट पसिना आउने, आँखा बाहिर देखिने गलगाँड आउने हाइपर थाइराइडमा देखापर्ने गर्दछ। 

००

थाइराइड पुरुषलाई भन्दा महिलामा बढी देखिने गर्दछ?

थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो। हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ। हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ। थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ। पुरुषको तुलनामा महिलाहरूको शरीर हर्माेनका मामलामा ज्यादा संवेदनशील हुन्छ।

थाइराइडको समस्याबाट हर्मोन उत्पादनमा गडबड हुने भएकाले महिलाहरूको शरीरले त्यसको असरमा प्रतिक्रिया देखाइहाल्छ। त्यसको तुलनामा पुरुषहरूको शरीरमा हर्मोनको मात्रा केही तलमाथि हुँदैमा खासै प्रभाव पार्दैन। पुरुषमा १० प्रतिशत तलमाथि हुँदा लक्षण देखिने हुन्छ भने महिलाहरूमा एक प्रतिशत तलमाथि हुँदा मात्रै पनि असर देखिन्छ। 

थाइराइड र अन्य रोगहरू 

थाइराइडका रोगहरूको सोझो सम्बन्ध मधुमेह र अन्य नसर्ने रोगसँग छैन तर थाइराइड भएको मानिसलाई मधुमेह हुने सम्भावना निकै उच्च हुन्छ। हाइपोथाइरोडिजमका कारण मानिसहरू मोटाउँदै गइरहेका हुन्छन्। मोटोपनले मधुमेह र अन्य नसर्ने रोग निम्तने गर्दछ। 

हाइपर थाइराइड भएको अवस्थामा ‘टक्सिकोसिस’ भएर मुटुको धड्कन निकै छिटो बनाइदिन्छ। धड्कन छिटो भएपछि शरीरका विभिन्न भागमा आवश्यक परिमाणमा रगत पम्प हुन सक्दैन र अक्सिजनको आपूर्ति कम हुन्छ। तर, यस्तो खालको खतरा भने निकै कममा मात्रै हुन्छ। 

खाना बार्नुपर्छ कि पर्दैन?

थाइराइड रोगसँगै अरु रोगको पनि सम्भावना हुने भएकाले थाइराइडको समस्या देखिएकाले अरु रोग लाग्ने अवस्था निम्त्याउनु हँुदैन। नियमित खानाका क्रममा चिल्लोपदार्थको मात्रा निकै कम गर्नुपर्छ। थाइराइड लागेपछि मानिसहरू मोटाउँदै जाने भएकाले चिल्लो पदार्थ कम गर्नुका साथै शारीरिक कसरतमा ध्यान दिनुपर्छ। प्रेसर, सुगर र कोलेस्ट्रोलको मात्रा बढ्ने भएकाले हामीले सकेसम्म खानपानमा ध्यान दिनुपर्छ। बिरामीले आफ्नो तौल नियन्त्रण गर्न नियमित व्यायाम गर्नुपर्छ। 

थाइराइड खानेकुराले गर्दा हुने समस्या होइन। समाजमा बन्दा, काउली बार्नुपर्छ भन्ने नकारात्मक चलन छ तर थोरै मात्रामा सबै कुरा खान सकिन्छ।  

समुन्द्रमा पाइने खानेकुरामा आयोडिन बढी हुने हुँदा त्यस्तो खानेकुरा भने नखाँदा राम्रो हुन्छ। 

गर्भावस्था र थाइराइड

हरेक गर्भवती महिलाहरूको थाइराइड स्कृनिङ गर्नुपर्छ। गर्भवती हुनुभन्दा पहिले नै थाइराइड भएको भए झनै सतर्कता अपनाउनुपर्छ। नभए पनि हरेक गर्भवतीको स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ। थाइराइड भएको महिला गर्भवती भइसकेपछि औषधि सेवन गर्न छाडेका भेटिन्छ, जुन गलत हो। 

हाइपर थाइराइड छ भने डाक्टरको सल्लाहमा निर्णय लिनुपर्छ भने हाइपो थाइराइड छ भने औषधिको मात्रा थप बढाउनुपर्ने हुन्छ। 

हाइपो थाइराइडिज्म भएका गर्भवतीहरूले औषधि खान छाड्ने होइन, झनै बढाउनुपर्ने हुन्छ। यदि, औषधि सेवन गर्न छाडेमा गर्भपात÷गर्भपतन हुने खतरा रहन्छ। आमालाई हाइपो थाइराइडिज्म छ भने शिशु जन्मेको ७२ घण्टाभित्र उसको थाइराइड जाँच गर्नैपर्ने हुन्छ। साथै आमाले पनि थाइराइडको परीक्षण गर्नुपर्छ। 

थाइराइडको उपचार हुन्छ? 

हर्मोनको उपचार नेपालमा हुने गर्दछ। हर्मोन भनेको हाम्रो शरीरमा चाहिने कुरा हो। यदि, हर्मोन कम छ भने हर्मोन दिनुपर्छ। यदि, हर्मोन बढी छ भने यसको उत्पादनलाई कम गरिदिने हो। 
अहिले नेपालमा अत्यधिक मात्रमा थाइराइडको औषधिहरू प्रयोग भएका छन्। चिकित्सकको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्छ।

प्रस्तुति : सिर्जना खत्री