काठमाडौं- रेल सञ्चालनका लागि आवश्यक कर्मचारी नहुँदा जनकपुर-जयनगर रूटका लागि निर्मित रेल आउन सकेको छैन। भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनले निर्माण गरेको उक्त रेल बनिसकेको भएपनि सञ्चलनका लागि कर्मचारी नहुँदा ल्याउन नसकिएको रेल विभागले जनाएको छ।
कोंकर्ण रेलवे कर्पोरेशनको चेन्नेइस्थित कारखानामा नेपाल ल्याउने रेल बनेर तयारी अवस्थामा रहेको भएपनि कर्मचारी नहुँदा ल्याउन नसकिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। ‘भारतमा रेल बनेर तयारी अवस्थामा छ,’ मिश्रले भने, ‘हामीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गरिरहेका छौं। कर्मचारी तयार नभई रेल मगाउने अवस्था छैन।’
रेल विभागले यसअघि फागुन पहिलो सातासम्ममा जनकपुर जयनगर रुटमा नियमित रेल चल्ने दाबी गरेको थियो। तर विभागले दाबी गरेपनि हालसम्म कर्मचारी नै भर्ती गर्न सकेको छैन। कर्मचारी नहुँदा रेल ल्याउन नसकेको बहाना रेल विभागले गरिरहेको छ।
विभागले यसअघि नै रेल सञ्चालनका लागि कर्मचारी नियुक्ति प्रक्रिया फास्ट ट्रयाक गर्न लागेको जनाएको थियो। तर विभागले फाष्ट ट्रयाक प्रक्रियामा कार्मचारी नियुक्ति गर्ने भनेपनि कर्मचारीकै अभावमा रेल ल्याउन नसक्ने अवस्था आएको छ।
विभागले रेलवे कम्पनी ब्युँताएर रेल सेवा सञ्चालन गर्न लागेको हो। करिब २ सयजना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ। मन्त्रीपरिषदबाट स्वीकृति लिएर तत्कालका लागि रेल चलाउने केही प्राविधिक भने भारतबाट ल्याइने विभागले बताएको थियो।
भारतले नेपाललाई आवश्यक कर्मचारी पनि दिने प्रस्ताव करीब ५ महिनाअघि नै पठाएको थियो। आवश्यक सीमित संख्यामा भारतीय कर्मचारी लिने र बाँकी स्थानीयस्तरमा व्यवस्थापन गर्ने नीति विभागको छ।
जनकपुर-जयनगर रेलवे ट्रयाकलाई गएको वर्षायामको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको थियो। त्यसको मर्मतको काम भने सकिएको विभागले जनाएको छ।
पहिलो चरणमा जयनगर-जनकपुर करीब ३५ किलोमिटर खण्डमा रेल सञ्चालन गर्ने तयारीमा विभाग छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा यो खण्डमा रेलवे ट्रयाक बिछ्याइएको हो।
जयनगर-जनकपुर खण्डमा पहिले नै न्यारोगेज रेल सञ्चालनमा थियो। ती पुराना संरचनालाई हटाएर ब्रोडगेज रेलको लिक बिछ्याइएको हो। पहिले नै रेल संचालन भइरहेको खण्डमा मुआब्जालगायतका कुनै समस्या नभएका कारण सरासर लिक तयार पारिएको हो।
सरकारले करीब ८५ करोड खर्चेर दुइवटा रेल ल्याउने तयारी गरेको हो। रेल यातायात सञ्चालनका लागि रेल सरकारले जिटुजी माध्यमबाट खरिद गरेको जानकारी दिएको छ। नेपालका लागि निर्मित सेट डिजेल इलेक्ट्रीफाइड मल्टिपल युनिट (डेमु) रेल सेट हो।
एक सेट रेलमा पाँचवटा डिब्बा हुनेछ भने अगाडि र पछाडि दुवैतिर इन्जिन जोडिएकाले नघुमाई दुवैतर्फबाट चलाउन सकिन्छ। पाँच डिब्बामध्ये एउटा डिब्बा ड्राइभिङ पावरकार हुनेछ।
अर्को डिब्बा ड्राइभिङ ट्रेलर कार, एक एसी ट्रेलर कोच र अर्को दुइवटा नन-एसी ट्रेलर कोच हुनेछ। एउटा रेलसेटमा एकपटकमा ६ सय जनाले यात्रा गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।