काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले निजी प्रयोजनका लागि पनि कुनै संस्था वा व्यक्तिले विमान राख्न पाउनेगरी हवाई नीतिको मस्यौदा तयार गरेको छ।
मन्त्रालयले तयार पारेको मस्यौदा पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई बुधबार बुझाएको हो।
राष्ट्रिय हवाई नीति २०७६ को अन्तिम मस्यौदामा उक्त विषय समावेश गरिएको छ। मस्यौदामा कुनै संस्था वा व्यक्तिले निजी प्रयोगका लागि विमान दर्ता गरी सञ्चालन गर्न चाहेमा व्यापारिक उडान गर्न नपाउने गरी हवाई उडान सुरक्षा र हवाई सुरक्षामा समेत असर नगर्ने गरी तोकिएको सर्तहरु पुरा गर्नुपर्ने व्यवस्था भएको सह-सचिव सुरेश आचार्यले जानकारी दिए।
यसैगरी मस्यौदामा अन्तर्राष्ट्रिय एयरलाइन्समा ८० प्रतिशतसम्म वैदेशिक लगानी पाउने व्यवस्था पनि समावेश गरिएको छ। यसअघि ४९ प्रतिशतभन्दा बढी विदेशी लगानी हुन नसक्ने व्यवस्था थियो।
मस्यौदा समितिका संयोजक तथा पूर्व सचिव यज्ञप्रसाद गौतमले वर्तमान सन्दर्भमा आवश्यक ठानिएका र विगतमा तयार पारिएका नीतिमा समावेश नभएका कुरालाई समावेश गरिएको जानकारी दिए।
नीतिमा ५ वर्षभन्दा कम उमेर भएका विमान खरिदमा सहुलियत समेत दिइने उल्लेख छ। साथै नितीमा यसअघिकै १५ वर्षभन्दा बढी वर्ष भएका विमान आयातमा रोक लगाइने विषय समेत परेको छ।
मस्यौदामा अन्तर्राष्ट्रिय ट्रान्जिटदेखि कार्गो हब बनाउनेसम्मका योजना समेटिएका छन्। नीतिमा उल्लेख भएअनुसार लिजमा जहाज ल्याउन सहज बनाउनेदेखि विदेशी लगानीकर्तासमेत प्रोत्साहन गर्ने नीति लिइने भएको छ।
यसैगरी उक्त नीतिमा वायुसेवा सञ्चालन, प्रशिक्षण, मर्मत-सम्भार तथा यात्रु सेवासुविधा प्रदायक उद्योगहरूमा विदेशी लगानी स्वीकृति दिन सकिने व्यवस्था राखिएको आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।