काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चौमासिक समीक्षाका लागि अर्थ मन्त्रालयमा मन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालसहितको टोली छलफलमा थियो।
छलफलका क्रममा आफ्ना विषय राख्दै राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले पुँजीगत खर्च नभएको विषय राखे। उनले राष्ट्रिय गौरवका आयोजना र प्राथमिकता प्राप्त आयोजनाको खर्च नै कमजोर रहेको प्रसंग बैठकमा राखे।
कोइरालाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजी निर्माणमा योगदान पुर्यारउने वस्तुको आयात घटेको उल्लेख गरेका थिए। 'पुँजी निर्माणमा योगदान दिने वस्तुको आयात पनि घटेको सुनिएको छ,' कोइरालाले बैठकमा भनेका थिए।
कोइरालाको यही टिप्पणीलाई लिएर अर्थमन्त्री खतिवडा र अर्थसचिव डा राजन खनालले एकैसाथ प्रतिवाद गरे। अर्थमन्त्री खतिवडाले राष्ट्रिय योजना आयोगका प्रतिनिधिले 'आयात घटेको सुनिएको' टिप्पणी गर्नु ठीक नभएको भन्दै सम्बन्धित निकायबाट तथ्यांक लिएर मात्रै बोल्न भने।
'योजना आयोगले भन्सार विभागबाट तथ्यांक लिने हो कि, नेपाल राष्ट्र बैंकबाट तथ्यांक लिने हो आधिकारिक तथ्यांक लिएर बोल्नुपर्छ,' खतिवडाले बैठकमा भने। खतिवडाको भनाइ उधृत गर्दै मन्त्रालयका एक अधिकृतले भने, 'तथ्यांक प्रस्तुत नगरेको भन्दै अर्थमन्त्रीले योजना आयोगका प्रतिनिधिसमक्ष आक्रोश पोख्नुभएको थियो।'
यस्तै अर्थसचिव खनालले पनि पुँजीगत खर्च नभएको सन्दर्भमा योजना आयोगले वस्तुगत प्रस्तुति नदिएको उल्लेख गरे। 'काम भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई एउटै बास्केटमा राखेर खर्च भएन भन्नु भएन,' खनाललाई उधृत गर्दै स्रोतले भन्यो, 'कुनकुन आयोजनामा काम भएको छ, कुन आयोजनामा काम हुन सकेको छैन त्यो प्रष्ट भन्नुपर्यो।'
बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकअघि अर्थ मन्त्रालयमा मंगलबार बेलुका समीक्षा बैठक भएको थियो। यो छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र केन्द्रीय बैंकका पदाधिकारीले पहिलो चौमासिक बजेट कार्यान्वयन, खर्चको अवस्था र समस्याबारे छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।