काठमाडौं- काठ तथा काठजन्य सामाग्रीहरुको प्रदर्शनी नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा उक्त प्रदर्शनी हुने भएको हो।
नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको छैठौं संस्करण २०७६ माघ १७, १८ र १९ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुन लागेको छ। उक्त प्रदर्शनीमा संसारका विभिन्न देशका २ सयभन्दा बढि ख्यातीप्राप्त ब्राण्डहरुका १ सय ५० बढि स्टल रहने छन्।
फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी गरिएको आयोजनकले जनाएको छ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा काठका सामान बनाउने मेसिन, पावर टुल्स, डोका तथा झ्याल, काठका सामाग्री, कच्चा पदार्थलगायतको समेत उल्लेखनीय सहभागिता रहनेछ। उक्त प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्यातीप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा प्रविधिलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन्।
यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ। प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास आयोजकको छ।
यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टिरियर डिजाइनरहरुको समेत सहभागिता रहने छ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीको मूल उद्देश्यको रुपमा नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु पनि रहेको छ।
साथै यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने आयोजकको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।