काठमाडौं- विद्युतीय भुक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता सम्बन्धी कार्यविधि तयार भएसँगै आन्तरिक राजस्व विभागले भुक्तानी प्रदायकहरुलाई आफ्नो प्रणालीमा आवद्ध भएर करदातालाई पैसा फिर्ता दिने व्यवस्था मिलाउन निर्दशन दिएको छ।
विभागले भुक्तानी सेवा प्रदायकलाई आफ्नो प्रणालीमा सुधार गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाएर ग्राहकलाई भ्याट फिर्ता दिने व्यवस्था मिलाउन भनेको हो। विभागका अनुसार भुक्तानी सेवा प्रदायकहरुले एकीकृत कर प्रणालीमा रहेको ट्याक्सपेयर पोर्टलमार्फत आवद्ध भइ विद्युतीय भुक्तानीमा भ्याट फिर्ता दिन सक्ने व्यवस्था मिलाउन सक्नेछन्।
'उपभोक्तालाई भ्याट रकम फिर्ता गर्ने कार्यका लागि विद्युतीय बिजक जारी गर्ने करदाताहरु र भुक्तानी प्रणाली सञ्चालकहरु तथा भुक्तानी सेवा प्रदायकले यसअनुरुप आ-आफ्नो प्रणालीमा सुधार गर्नुपर्ने भए सुधार गरी यस विभागको एकीकृत कर प्रणालीमा रहेको ट्याक्सपेर पोर्टलमार्फत उक्त प्रक्रियामा आवद्ध भइ विद्युतीय भुक्तानीमा भ्याट फिर्ता दिने सम्बन्धी व्यवस्था कार्यान्वयनमा सबैलाई सहयोगका लागि अनुरोध छ,' विभागले भनेको छ।
विभागले केही दिनअघि विद्युतीय बिजक सम्बन्धी निर्देशिका संशोधन गर्दै विद्युतीय माध्यमबाट कारोबार गर्नेलाई १० प्रतिशत भ्याट फिर्ता दिने व्यवस्था कार्यान्वयनको विधि तय गरेको थियो। त्यसैअनुसार अहिले यो कार्यान्वयन गर्न भनिएको हो।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय माध्यमबाट हुने भुक्तानीमा भ्याट फिर्ता दिने घोषणा गरेको थियो। यसअनुसार विद्युतीय माध्यमबाट हुने भुक्तानीमा ग्राहकले तिरेको कूल भ्याट रकमबाट १० प्रतिशत रकम ग्राहकको बैंक खातामा फिर्ता हुनेछ।
सरकारले मूल्य अभिवृद्धि करलाई प्रभावकारी बनाउन र भ्याटको कम्प्लाएन्स वृद्धि गर्न यो व्यवस्था गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।