काठमाडौं- आफूले भनेअनुसार कर्मचारीको सरुवा नभएको भन्दै नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन आन्दोलनमा उत्रिएको छ। कर्मचारी सरुवामा भनेअनुसार नभएपछि कार्यकारी निर्देशक कुलमान घिसिङको भण्डाफोर गर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
अनुकूल सरुवा नभएपछि युनियनका पदाधिकारीहरुले कर्मचारी प्रशासन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक तुलाराम गिरी माथिसमेत आक्रमणको प्रयास गरेका छन्।
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वरप्रसाद पौडेल र उपसंयोजक खगेन्द्र शाहीले निकालेको विज्ञप्तिमा सहज र स्वच्छ विद्युत प्राधिकरणलाई विभिन्न बहानामा असहयोग गर्ने, विनियमावली विपरित विना प्रतिस्पर्धा खरिद गराउने जस्ता काम भइरहेको र यसको भण्डाफोर गर्ने उल्लेख छ।
किन आन्दोलनमा उत्रियो युनियन?
आन्दोलनरत कर्मचारी युनियनको विज्ञप्तिमा प्राधिकरणको नेतृत्वमाथि विभिन्न आरोप लगाइएको भए पनि उनीहरुको मुख्य मुद्दा कर्मचारी सरुवा नै रहेको प्रष्ट उल्लेख छ। प्राधिकरणमा यसअघि कर्मचारी युनियनका नेताहरुको सिफारिसमा सरुवा हुने गरेको भए पनि अहिले त्यसो नभएपछि आन्दोलनमा उत्रिएका हुन्।
'विगतमा सरुवाका क्रममा आर्थिक अपचलन नै हुने गरेका कुरा बाहिरै आएका हुन्, त्यसमा युनियनका जिम्मेवार पदाधिकारी नै संलग्न रहेको विषय धेरैलाई थाहा नै छ,' प्राधिकरण स्रोतले भन्यो, 'अहिलेको सरुवामा उनीहरुको हालीमुहाली हुन पाएन, त्यसपछि कुरा बिग्रियो।'
उनीहरुले विज्ञप्तिमा कर्मचारीको कार्य सम्पादन मूल्यांकनमा अंक घटाउनेदेखि अवकाशको मुखैमा रहेका कर्मचारीको पनि सरुवा भएको भन्दै त्यसमा आपत्ति जनाएका छन्। उनीहरुले यसविरुद्ध सांकेतिक भण्डाफोर अघि बढाउने उल्लेख गरेका छन्।
विद्युत प्राधिकरणअन्तर्गत विभिन्न कम्पनीमा जान चाहने कर्मचारीको संख्या धेरै हुन्छ। कम्पनीमा राम्रो सुविधा पाइने भएकाले युनियनका पदाधिकारीहरुले अनियमित सरुवाका लागि नेतृत्वलाई दबाब दिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।