काठमाडौं– आर्थिक क्रियाकलाप बिस्तारसँगै सरकारले ५ स्थानमा कर कार्यालयको स्तरोन्नति एवं नयाँ स्थापनाको तयारी गरेको छ। अर्थ मन्त्रालयले ४ वटा करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गर्ने र एउटा नयाँ कार्यालय खोल्न लागेको हो।
मन्त्रिपरिषदबाट दरबन्दी स्वीकृत भएसँगै अर्थ मन्त्रालयले सुनसरीको इटहरी, जुम्ला, नवलपुरको कावासोती र डडेल्धुरामा रहेका करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गर्न लागेको हो। यसैगरी काठमाडौंको जोरपाटीमा नयाँ कार्यालय स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
सरकारले गत वर्षदेखि नै आर्थिक क्रियाकलाप बढिरहेका ठाउँमा कर कार्यालय खोल्ने तथा भएका कार्यालय स्तरोन्नति गर्ने गरिरहेको छ। यसैगरी छोटी भन्सार कार्यालयलाई मूल भन्सारमा स्तरोन्नति पनि गरिएको छ।
कार्यालय स्तरोन्नतिसँगै सुनसरीमा दुईवटा आन्तरिक राजस्व कार्यालय भएका छन्। सुनसरीको धरानमा यसअघि नै आन्तरिक राजस्व कार्यालय थियो।
काठमाडौंको चाबहिल शाखामा रहेको कार्यबोझ पनि केही कम हुनेछ। जोरपाटी कर कार्यालयले शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका हेर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।