काठमाडौं– सहकारी ऐन २०७४ संशोधनका लागि लबिइङ चलिरहँदा ऐनमा भएको निश्चित विषयगत सहकारीले मात्रै वित्तीय कारोबार गर्न पाउनुपर्ने व्यवस्थासहित राखिएको ‘मुख्य कारोबार’ को प्रावधान सबैभन्दा पेचिलो मुद्दाका रुपमा देखिएको छ।
राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन संशोधनका लागि भन्दै मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बुझाईसकेको छ। महासंघले ऐन संशोधनका लागि तयार पारेको सुझाव मस्यौदामा ‘मुख्य कारोबार भन्ने शब्दावली हटाएर सबै सहकारी संस्थाले बचत तथा ऋणको वित्तीय कारोबार गर्न पाउनुपर्ने व्यवस्था राखिएपछि बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संस्थाहरुले त्यसको विरोध जनाएका छन्।
सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले सोमबार राजधानीमा आयोजना गरेको ‘सहकारी ऐन, २०७४ संशोधन किन?’ विषयक छलफल कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले अन्तर्राष्ट्रिय सहकारी महासंघले तयार पारेको नीति नियम नेपालको सन्दर्भमा कार्यान्वयन तथा वित्तीय अनुशासन पालनामा कडाइका लागि एेन संशोधन गर्नुपरेको बताए।
‘विषयगत सहकारीले बचत तथा ऋणको कारोबार गर्दा वित्तीय पारदर्शिता कायम गर्न हामी कत्तिको सक्षम छौं भन्ने विषयमा हामीले सोच्न जरुरी छ। अहिले हामीले मुख्य कारोबार भनेर भनिरहेको व्यवस्था अहिलेकै अवस्थामा कार्यान्वयन गरिनुपर्छ,’ उनले भने। त्यस्तै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ऐन संशोधन स्वाभाविक भए पनि पछिल्लो समय सबै सहकारी संस्थालाई बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने भन्दै राष्ट्रिय सहकारी महासंघले नै लबिइङ गर्न थालेका कारण विषयगत सहकारीको पहिचान नै संकटमा पर्ने अवस्था आएको बताए।
कृषि सहकारी केन्द्रीय संघ अध्यक्ष खेमबहादुर पाठकले भने, ‘२०४८ मा बनेको सहकारी ऐन २०७४ मा संशोधन भइ कार्यान्वयनमा आएको छ। छिटो ऐन ल्याउन लागेका बेला हामीले केही विषयमा सम्झौता गर्नुप¥यो, केही विषय त्यो बेलामै असहमति थिए। केही कुरा माथि गएर फेरबदल भए, जसकाकारण ऐन संधोधनका लागि पहल गर्नुपर्यो।’
बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका सचिव माधब तिमिल्सिनाले अहिले सबै विषयगत सहकारीले बचत तथा ऋणको कारोबार गरिरहेको र त्यस्तो काम कानुनविपरीत रहेको धारणा राखे। ‘जुन उद्देश्यले सहकारी दर्ता भएको हो त्यहीअनुरुपको काममा केन्द्रित हुनपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।