डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा विमानस्थल नभएको जिल्लाका रुपमा रहेको डडेल्धुरामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ।
डडेल्धुरामा प्रारम्भिक अध्ययन पश्चात विमानस्थलको सम्भाव्यता अध्ययन सुरु भएको हो। अजयमेरु गाउँपालिका १ को पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर क्षेत्रमा सम्भाव्यता अध्ययन सुरु भएको हो। पहाडमै ठूलो विमानस्थल तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालबाट सिधै पहाडी जिल्लामा उडान भर्न सक्ने बारेमा अध्ययन सुरु भएकाे हाे।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लामा यसअघि नै विमानस्थल निर्माण भइसकेका छन् भने बन्द रहेका विमानस्थलहरु पुनः निर्माण भइरहेका छन्। सुदूरपश्चिमका अन्य ७ पहाडी जिल्लामा रहेका विमानस्थलहरु ६ सयदेखि ७ सय मिटरका मात्र छन्। अहिले धनगढी विमास्थल भएर मात्र अन्य पहाडी जिल्लामा उडान भर्न सक्छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि जिल्लामा एक प्राविधिक टोली पठाएको छ। प्राविधिक टोलीले सम्भाव्यता अध्ययनका रुपमा स्थलगत निरीक्षण गरी लम्बाइ र चौडाइ लिनुका साथै ड्रोन क्यामरामार्फत उक्त क्षेत्रको नक्सा पनि लिएको छ। जिल्ला सदरमुकामबाट १२ किलो मिटर दूरीमा रहेको स्थान भौगोलिक रुपले उपरोक्त रहेको प्रविधिक टोलीको भनाई छ।
२०७० सालदेखि डडेल्धुरामा विमालस्थल निमार्णका लागि विभिन्न स्थानमा माग राखेको भएपनि अहिले आएर पुइलेकमा प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु भएको हो। अध्ययन गरेकोको पूर्ण निष्कर्ष आउन ३ महिना लाग्नेछ। यसअघि पुइलकसँगै डडेल्धुराको बिरादे, दहभेटा, डाँडाबन क्षेत्रमा पनि प्रारम्भिक अध्ययन भएको थियो।
बिरादेमा विमानस्थलका लागि आवश्यक धावनमार्गको लम्बाइ नपुगेको, दह भेटामा पर्याप्त क्षेत्रफल नभएको र डाँडाबनमा धावनमार्गका लागि पर्याप्त क्षेत्रफल रहेको भएपनि धावनमार्ग पहाडले छेक्ने सम्भावना रहेको अध्ययन टोलीले जनाएको थियो।
पुइलेकमा अध्ययन गरिए अनुसार विमानस्थलका लागि आवश्यक धावनमार्गको लम्बाइ, पर्याप्त क्षेत्रफल भएकाे पाइएकाे छ। क्षेत्रफल मिलेको तर जमिन भिरालो भएपनि राम्रो भएको, धावन मार्ग पहाडले छेक्ने सम्भावना नरहेको पाइएको अध्ययन टोलीका सदस्य सिभिल इन्जिनियर नरेश सिवाकोटीले बताए।
उनले भने, ‘यो क्षेत्र भौगोलिक रुपले र धावनमार्गलगायतका हिसावले राम्रो छ, रिपाेर्ट आउन ३ महिना लाग्छ के देखाउछ हेरौँ।’ संम्भाव्यता अध्ययन गरिएको क्षेत्रको भू–वनोटलगायत ल्याण्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका कुराहरुलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको अध्ययन टोलीका सदस्य इन्जिनीयर सिवाकोटीको भनाइ छ।
विमानस्थलको प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीय नागरिक खुसी भएका छन्। लामो समयदेखि चर्चामा रहेका स्थानमा फेरि अध्ययन सुरु भएपछि विमानस्थल बन्ने आशा जागेको स्थानीय बताउँछन्। विमानस्थल निर्माण गर्न छिटो पहल गर्न स्थानीयले सरकारसँग मागसमेत गरेका छन्। स्थानीय टेकबहादुर ऐरले भने, ‘सुदूरपश्चिममा सबै जिल्लामा विमानस्थल छन्। हाम्रो छैन। सरकारले छिटाे बनाउनु पर्छ।’
सरकारले विमानस्थलको लागि काम अगाडि बढाए जमिन तथा अन्य समाजिक सहयोग आफूहरु गर्न तयार रहेको अर्का स्थानीय डम्बर साउँदको भनाइ छ। उनले भने, ‘बनाउन सुरु गरेपछि हामी जस्तो सुकै सहयोग गर्न तयार छौँ।’
स्थानीय तहहरुले पनि विमालस्थलका लागि चासो देखाएका छन्। अजयमेरु गाँउपालिका उपाध्यक्ष कलावती भाँणले अध्ययन टोलीसंग छिटो प्रक्रिया अगाडि बढाउन अनुरोध गरिन्।
विमानस्थल निर्माणका लागि डडेल्धुराको पुइलकमा कालोपत्रे सडक पहुँच भएकाले ४ वर्षको समयावधि लाग्न सक्ने प्राविधिक टोलीले जनाएकाे छ। विमालस्थल अध्ययन भइरहेकाे क्षेत्र डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ।
डडेल्धुराको अजयमेरु–१ समैजी पुइलेक क्षेत्रमा विमालस्थान निमार्ण भए ७ पहाडी जिल्लाको लागि उपयुक्त हुनुका साथै धनगढी र नेपालगञ्जमा हिउँदको समययमा मौसमका कारणले उडान बन्द भए पनि डडेल्धुरा विकल्पका रुपमा हुने प्राविधिकहरूको भनाइ छ। प्राविधिकहरूका अनुसार यहाँ निर्माण हुने विमालस्थल काठमाडौंदेखि सिधैं डडेल्धुरा उडान भर्न सक्ने बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।