काठमाडौं– नेपाली युवाहरुको रोजाइमा फेरि मलेसिया नै परेको छ। करिब १७ महिना बन्द रहेको मलेसिया खुलेसँगै नेपाली श्रमिकको रोजाइमा पुनः मलेसिया नै परेको हो।
पुस महिनामा ७ हजार ८ सय १२ जना युवाले मलेसियाका लागि नयाँ श्रम स्वीकृति लिएका हुन्। रिइन्ट्रि तथा लिगलाइजेशनसहित १० हजार ७ सय ३ वा मलेसिया पुगेका छन्। मलेसिया जाने कामदारमाथि अत्याधिक शोषण भएको भन्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते बन्द गरेपछि मलेसिया १७ महिना ठप्प भएको थियो।
त्यसयता मलेसिया खुले पनि युवाहरुको रोजाइमा भने पर्न सकेको थिएन। मंसिरमा मलेसिया जाने युवाको संख्यामा गिरावट आएको थियो। नयाँ श्रम स्वीकृति लिएर ४ हजार युवामात्रै मलेसिया गएका थिए। अघिल्लो महिनामा युवाहरुको रोजाइमा साउदी परेको थियो। नयाँ श्रम स्वीकृति लिएर ६ हजार १ सय ८२ युवा साउदी पुगेका थिए।
पुस महिनामा साउदी युवाको रोजाइको दोस्रो नम्बरमा परेको छ। नयाँ श्रम स्वीकृति लिएर ६ हजार ३ सय १२ युवा साउदी उडेका छन्। पुनः श्रम स्वीकृति तथा लिगलाईजेसनसहित १२ हजार ५ सय ८४ जना युवा साउदी पुगेका हुन्। युएईका लागि ४ हजार ८ सय ३९ र कतारका लागि ४ हजार ४ सय ८७ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्। पुस महिनामै बहराईन, ओमान, साइप्रस, अफगानिस्तान, इजिप्ट, फ्रान्सलगायत ८४ मुलुकमा ५२ हजार २ सय २५ श्रमिक विदेशिएका छन्।
जापान, जोर्डन, माल्टा, माल्दिभ्स, पोल्याण्डलगायत मुलुकमा युवाहरुको आकर्षण बढ्दै गइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका निर्देशक भोलानाथ गुरागाइँका अनुसार यी मुलुकमा जाने कामदारहरु राम्रो काम र कमाईको प्रलोभनमा ठूलो संख्यामा ठगिइरहेका छन्।
‘आकर्षक काम र कमाईको प्रलोभनमा पछिल्लो समय ठूलो संख्यामा युवाहरु ठगिएका छन्, आफूले बुझाएको रकमको प्रमाण नहुँदा उजुरी लिन पनि समस्या छ’, निर्देशक गुरागाइँले भने। विदेशिने आधाभन्दा बढी रोजगारीको खोजीमा खाडी लगायतका मुलुकमा जाने अदक्ष कामदार छन्। पुसमा विदेशिएका ५२ हजार युवामध्ये २९ हजार ९ सय ६५ अदक्ष छन्। यो संख्या हेर्दा झण्डै ६० प्रतिशत युवा अदक्ष छन्। १७ हजार युवाहरु दक्ष रहेको विभागको तथ्यांकले देखाउँछ।
नेपालबाट खाडीमा अर्धदक्ष कामदार पनि जाने गरेका छन्। जापान, दक्षिण कोरियालगायत मुलुकमा दक्ष कामदार जाने गरेका छन्।
डिमाण्ड ल्याउन कठिनः व्यवसायी
पछिल्लो समय खाडी तथा युरोपियन मुलुकबाट डिमाण्ड ल्याउन कठिन भएको म्यानपावर व्यवसायीले बताएका छन्। मलेसियाबाट पनि खुलेदेखि अहिलेसम्म करिब ३८ हजारमात्रै डिमाण्ड ल्याइएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए।
‘खाडीका रोजगारदाताले अन्य मुलुकबाट कामदार ल्याउने कोटा बढाउन थाले, युरोपियनलगायत अन्य मुलुकबाट डिमाण्ड ल्याउने काममा सरकार तथा कूटनीतिक नियोगबाट केही सहयोग मिलेको छैन, जसले गर्दा कामदारको डिमाण्ड ल्याउन सकिएको छैन’, संघका महासचिव श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।