काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागसँग अनावश्यक त्रास नपाल्न आग्रह गरेका छन्। दुवै सरकारी निकायले गलत काम गर्नेमाथि नियन्त्रण गर्ने भन्दै मन्त्री खतिवडाले त्यसबाट नतर्सिन आग्रह गरेका हुन्।
'गल्ती गरेको छ भने डराउने हो, गल्ती भएको छैन भने किन डराउने,' मन्त्री खतिवडाले भने, 'कसैले पनि स्वेच्छाचारी हिसाबले काम गर्न सक्दैन, गर्न पनि मिल्दैन।' खतिवडाले व्यवसायीले आवश्यकभन्दा धेरै चिन्ता नलिन पनि आग्रह गरे।
'कहिलेकाहीँ व्यवसायीहरू आवश्यकताभन्दा धेरै चिन्ता लिनुहुन्छ, आयात धेरै भयो भन्ने चिन्ता कहिले लिनुहुन्छ, राजस्व पुगेन भन्ने चिन्ता पनि लिनुहुन्छ,' उनले भने, 'यो सबै चिन्ता लिन छोडिदिनुस्।' भन्सार विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री खतिवडाले विगतका दिनमा गलत प्रतितपत्र (एलसी) काण्ड भएको भन्दै स्वच्छ र पारदर्शी व्यवहार सबैले पालना गर्नुपर्ने उल्लेख गरे।
मन्त्री खतिवडाले सन्दर्भ मूल्यकै कारण अर्थतन्त्रमा विकृति ल्याउन सक्ने जोखिम रहेकाले त्यसमा सुधारका लागि आफूहरू तयार रहेको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।