काठमाडौं– अमेरिकी इलेक्ट्रिक कार उत्पादक कम्पनी टेस्लाले चीनमा बनाएको प्लान्टबाट उत्पादित सवारी केही दिनअघि सार्वजनिक गरेको थियो। चिनियाँ कम्पनीले पनि यसैसाता अमेरिकामा इलेक्ट्रिक सुपर कार सार्वजनिक गरेको छ।
चीनमा प्लान्ट स्थापनाका लागि टेस्लाले चिनियाँ बैंकसँग १ अर्ब ४० करोड अमेरिकी डलर (१० अर्ब युआन) लिएको छ। टेस्ला इलेक्ट्रिक कार उत्पादकको रुपमा छोटो समयमा विश्वभर चर्चामा छ। चीनको सांघाईमा स्थापना गरिको प्लान्टबाट चीनसहित एसियाली बजारलाई लक्षित गरिएको छ।
५ वर्षमा तिर्ने गरी चाइना कन्स्ट्रकसन बैंक, एग्रिकल्चर डेभलपमेन्ट बैंक अफ चाइना, इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना र सांघाई पुडोङ डेभलपमेन्ट बैंकले टेस्लालाई ऋण उपलब्ध गराउन सहमत भएका थिए। चिनियाँ बैंकहरुले टेस्लालाई यो वर्षको सुरुवातमै ३ अर्ब ५० करोड युआन ऋण उपलब्ध गराएका थिए। १२ महिनामा तिर्ने गर्ने गरी उक्त रकम उपलब्ध गराइएको थियो।
नयाँ ऋण स्वीकृत भएसंगै चिनियाँ प्लान्टबाट टेस्लाका इलेक्ट्रिक कार उत्पादन भइसकेका छन्। अमेरिकामा चिनियाँ कम्पनीले सार्वजनिक गरेको यो पहिलो इलेक्ट्रिक सुपर कार हो। क्वाइटू मोटर्सले मुलन टेक्नोलोजिन्सँगको सहकार्यमा सवारी उत्पादन गर्नेछ। इलेक्ट्रिक सुपर कारमा अगाडि र पछाडि डुअल मोटर प्रयोग गरिएको छ। यो कारमा भएको मोटरले ४ सय ३० एचपी पावर दिनेछ। यो कारले एकपटकको फुल चार्जमा २ सय ५० माइल माइलेज दिनेछ।
पूर्ण विद्युतीय यो कारको अधिकतम गति १ सय २५ माइल प्रतिघण्टा रहनेछ। मुलनका अनुसार यो कारको माइलेज तथा पफर्मेन्स दुवैलाई उत्तिकै महत्व दिने गरि काम गरिरहेको जनाइएको छ। चीनमा कम्पनीको के५० मोडलले ४।२ सेकेन्डमा शून्यबाट ६० माइल प्रतिघण्टाको गति तय गर्नसक्छ। तर कम्पनीले यो गति ४ सेकेन्डभन्दा कम समयमै तय गर्न सक्नेगरी अमेरिकी भर्सन सार्वजनिक गरेको हो।
यो कारमा १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ। कारको इन्टेरियर निक्कै आकर्षक बनाइएको छ। कारमा रोकिएका बेला वातावरण नियन्त्रणका लागि छतमा सोलार प्यानल राखिएको छ। चीनमा के५० को मूल्य १ लाख ५ हजार अमेरिकी डलर तोकिएको छ। मुलनले अमेरिकी बजारमा यो कारको मूल्य १ लाख ५ हजार र १ लाख ५० हजार डलर तोक्ने योजना बनाएको छ।
इलेक्ट्रिक कारबारे चासो राख्ने र इलेक्ट्रिक कार चढ्ने चाहना हुनेले हालसम्मलाई टेस्लालाई नै ‘ड्रिम’ कारको रुपमा लिने गरेका छन्। केही महिनाअघि भारत सरकारले इलेक्ट्रिक सवारीमा लाग्दै आएको १२ प्रतिशत जीएसटीलाई ५ प्रतिशतमा सीमित गरेको छ। भारतीय बजारमा टेस्ला मोडल ३ को मूल्य ३५ हजार अमेरिकी डलर पर्ने अनुमान गरिएको छ। चीनको सांघाईमा टेस्लाको गिगाफ्याक्ट्री स्थापना परिएको हो। यो टेस्लाको अमेरिकाबाहिर रहेको पहिलो फ्याक्ट्री हो।
उक्त प्लान्टले वार्षिक ५ लाख इलेक्ट्रिक सवारी उत्पादनको क्षमता राख्छ। चीनमा उत्पादन भएसँगै टेस्लाका इलेक्ट्रिक कार भारतीय बजारमा समेत सहज रुपमा आउने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।