काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाका कारण सेयर बजार घटेको भन्ने ह्याङओभर विस्तारै हट्न थालेको देखिएको छ। उनी अर्थमन्त्री हुँदा सेयर बजार सूचक नेप्से १४३० वरिपरि थियो। जब उनी अर्थमन्त्री भए सेयर बजार दिनदिनै घट्न थालेको थियो। यसले गर्दा उनी धेरै आलोचित हुन पुगेका थिए।
पछिल्लो समय अर्थमन्त्रीले सेयर बजारप्रति सकारात्मक अभिव्यक्ति दिन थालेपछि बजार सुधार हुन थालेको विश्लेषण गर्न थालिएको छ। पछिल्लो दुई महिनादेखि खतिवडा अर्थमन्त्रीबाट हट्ने हल्लाले बजार सुधारका लागि टेवा पुर्याएको नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।
बजारप्रति सकारात्मक देखिएका अर्थमन्त्री रहे पनि नरहे पनि उनका कारण घटेको सेयर बजार पुरानै लयमा फर्कने बजार विश्लेषकहरू बताउँछन्। यदि बजार अर्थमन्त्री हुँदाको अवस्थामा फर्कियो भने पनि १४ सयको लाइनभन्दा माथि जाने उनीहरूको आँकलन छ।
विगत दुई वर्ष अवधिमा ११ सय र १२ सय वरिपरि रुमलिएको बजार अब १३ सय र १४ सयको लाइनमा घुम्ने आँकलन विश्लेषकहरूको छ। तीन वर्षदेखि लगातार घटिरहेको बजारमा चक्रीय प्रभाव परेको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको विश्लेषण छ।
बजार बढ्नुका ७ कारण
सेयर बजार बढ्नुको पहिलो कारण अर्थमन्त्रीप्रतिको नकारात्मक धारणा कम हुँदै जानु हो। कुनै बेला अर्थमन्त्रीको सानोतिनो भाषणले समेत बजारमा प्रभाव पर्ने गर्दथ्यो। अहिले उनका अभिव्यक्तिले खासै असर पर्दैन। अधिकांश लगानीकर्ताले उनी अर्थमन्त्रीबाट हट्ने हल्ला चलाइरहेका छन्। अर्को उनि अब सुध्रिसके भन्ने विश्लेषण पनि धेरैको छ।
बजार बढ्नुको दोस्रो कारण बैंकिङ क्षेत्रको तरलता सहज भएकोले पनि हो। बैंकहरूले दिर्घकालीन क्षेत्रमा कर्जा लगानी गर्दा तरलता अभाव भएको थियो। यस कारणले बैंकहरूसँग लगानीयोग्य रकमको चर्को अभाव देखियो। पछिल्ला दिनमा विस्तारै बैंकहरुमा तरलता सिर्जना हुँदै गएको छ। तरलतासँगै सेयर लगानीकर्ताहरुले सेयर कर्जा प्राप्त गर्न थालेका छन्। बैंकहरू आफैले ठूला लगानीकर्ता तथा ब्रोकरकोमा पुगेर सेयर कर्जा प्रवाह गरिरहेको उनीहरु बताउँछन्।
बैंक ब्याजदर घट्दो क्रममा हुनु बजार बढ्नुको तेस्रो कारण हो। सेयर बजारलाई सबैभन्दा बढी बैंकिङ ब्याजदरले प्रभावित पारिरहेको हुन्छ। जबजब बैंक ब्याजदर बढ्छ, सेयर बजार घट्छ भने जब बैंकिङ ब्याजदर घट्छ सेयर बजार उकालो लाग्छ। यसको प्रमुख कारण बैंकमा सस्तो ब्याजदरमा पैसा राख्नु भन्दा सेयर लगानी गर्नु उचित हुन्छ। बैंक ब्याजदरभन्दा सेयरबाट पूँजीगत लाभ धेरै हुँदा लगानीकर्ता हौसिन्छन्।
चौथो कारण, सेयर बजारको 'बियरिस साइकल' सकिएर 'बुलिस साइकल' सुरु भएको विश्लेषण गरिन थालेको छ। बुलिस साइकल (बढ्दो चक्र)मा कुनै पनि बेला सेयर बजार सुधार हुन्छ र जस्तासुकै कम्पनीको सेयर मूल्य पनि बढिरहेको हुन्छ भने बियरिस साइकल (घट्दो चक्र)मा यसको विपरीत हुन्छ। चक्रीय प्रभावले लगानीकर्ताहरु बजारमा उत्साहित हुन्छन्।
पछिल्लो समयमा ठूला संस्थागत लगानीकर्ता म्युचुअल फन्ड तथा बीमा कम्पनीहरूले सेयर खरिद गर्न थाल्नु बजार बढ्नुको पाचौं कारण हो। म्युचुअल फन्डसँग मात्रै २० अर्बभन्दा बढी लगानी क्षमता छ। त्यस्तै बीमा कम्पनीहरूले पनि टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने छुट छ। यसले गर्दा पनि बजारमा पैसा भित्रिएकाले बजार सकारात्मक दिशामा अघि बढेको हो।
पछिल्लो समय म्युचुअल फन्ड ब्रोकर कार्यालयमै गएर सेयर खरिद बिक्री गर्न थालेका छन्। अर्बौ रुपैयाँको लगानी क्षमता भएका फन्डले पैसा बाहिर निकाल्दा कारोबार रकमसँगै बजार सुधार भएको हो। उनीहरूले पछिल्लो समय बजारमा प्रभाव पार्न सक्ने एक बजार विश्लेषकले बताए।
लगानीकर्तामा 'बजार सुधार हुन्छ' भन्ने मनोविज्ञान हाबी हुनु बजार बढ्नुको छैटौं कारण हो। बजार सुधार हुन्छ भन्ने मनोविज्ञानले लगानीकर्ताहरु हौसिएर महंगोमै भए पनि सेयर उठाइरहेका छन्। यसै क्रममा उनीहरूले एउटा पोर्टफोलियोबाट अर्को पोर्टफोलियोमा लगानी परिवर्तन गर्दै सेयर खरिद बिक्री गरिरहेका छन्। यसले कारोबार बढाएको छ।
जबसम्म लगानीकर्ताहरूले सेयरबाट भएको नाफालाई बाहिर लैजाँदैनन्, तबसम्म सेयर बजार सुधार हुने बजार विश्लेषक दीलिप मुनाकर्मीको विश्लेषण छ। पोर्टफोलियो परिवर्तन गर्दै बजारमा टिकिरहने हो भने बजारमा ठूलो पहिरो नआउने तर बजारबाट भएको नाफा बुक गरेर पैसा बाहिर लैजाने लगानीकर्ता हाबी भएका खण्डमा चाँहि बजारलाई असर गर्ने उनको तर्क छ।
सातौं कारण हो, सेयर बजार धेरै नै तल्लो बिन्दुमा झरेको हुँदा अझै पनि बैंकिङ क्षेत्रको लगानीबाट राम्रो मुनाफा आर्जन गर्न सकिने लगानीकर्ताहरू बताउँछन्। बिमा, माइक्रोफाइनान्स, तथा उत्पादन तथा प्रशोधनमूलक कम्पनीको सेयरबाहेक अन्यको सेयरमा लगानी गर्दा अहिले पनि 'अन्डरभ्यालु'कै अवस्था रहेको विश्लेषकहरू बताउँछन्।
बजार सुधार हुन थालेसँगै लगानीकर्ताहरू अल्पकालीन तथा दिर्घकालीन लगानी बढाउन थालेका छन्। लगानीकर्ताले भोलिका दिनमा थप फाइदा लिन सकिने अनुमान गरेसँग कारोबार गर्न थालेकाले बजार सुधारमा सहयोगी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।