काठमाडौं– एपेक्स बैंकका तत्कालीन अध्यक्ष बिष्णु धिताल आफ्नो बैंक खाता फुकुवाका लागि सर्वोच्च पुगेका छन्। एपेक्स घोटाला प्रकरणमा आफ्नो पैसा रोक्का भएपछि धितालले नेपाल राष्ट्र बैंक वित्त कम्पनी सुपरीवेक्षण विभागलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए।
उनको मुद्दा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजालसले राष्ट्र बैंक वित्त कम्पनी सुपरीवेक्षण विभागलाई एपेक्स प्रकरणका सम्पूर्ण काजगपत्र पेश गर्न आदेश दिएको छ। इजलासले के कति कारणले खाता रोक्का गरिएको हो त्यसका सम्पूर्ण काजगपत्र प्रस्तुत गर्न आवेश दिएको छ।
एनसिसी बैंकसँग मर्जरका क्रममा एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्षसहितका सञ्चालकले कमसल धितोमा कर्जा लगानी गरेको खुलासा भएपछि धितालविरुद्ध मुद्दा दायर गरिएको थियो। उनको मुद्दा उच्च अदालत पाटनमा चलिरहेको छ। मुद्दाका क्रममा उनको बैंक खाता रोक्का गरिएको थियो। आफ्नो ३० लाख रुपैयाँ रहेको बैंक खाता रोक्का भएपछि आफू सर्वोच्च गएको धितालले बताए।
उनलाई एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोगमा बैंकिङ कसुरअन्तर्गत मुद्दा चलाइएको छ। घोटाला सार्वजनिक भएसँगै उनलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको थियो। पछि उच्च अदालत पाटनको आदेशमा उनीसहित पक्राउ परेका चार जना धरौटीमा छुटेका थिए।
उनीहरुलाई भिरालो पाखोबारी र बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको, कृत्रिम ऋणी खडा गरेको, ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरण स्वीकृत गरेको, वन क्षेत्र भएको पाखोबारीमा बाटो भएको प्रमाणित गरेको, सावाँ र ब्याज नतिर्ने ऋणीलाई पुनः कर्जा दिएकोलगायत अभियोग लगाइएको छ।
एनसिसीले एपेक्सलाई प्राप्ति गरेपछि उक्त घोटाला सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।